मोदीको हराउँछु भन्ने प्रतिस्पर्धीको उम्मेद्वारी रद्द

बुधबार, १८ बैशाख २०७६, १८ : १७
मोदीको हराउँछु भन्ने प्रतिस्पर्धीको उम्मेद्वारी रद्द

भारत । भारतीय लोकसभाको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेद्वारी दिएका तेजबहादुर यादवको मनोनयन पत्र रद्द गरिएको छ । भारतीय निर्वाचन आयोगले उम्मेद्वारी रद्द गरिदिएको कारण पूर्व सैनिक जवान यादवले निर्वाचनमा भाग लिन नपाउने भए । प्रधानमन्त्री मोदीलाई हराउने उनको सपना पनि पूरा नहुने भएको छ ।

हरियाणाका बासिन्दा यादव समाजवादी दलको समर्थनमा बनारसबाट उम्मेद्वार बन्न आएका थिए, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी मैदानमा छन् । निर्वाचन आयोगले सीमा सुरक्षा बल बिएसएफले बर्खास्त गरेको जवानलाई निर्वाचनमा उम्मेद्वार बन्न अयोग्य ठह¥याएको छ । दुई वर्षअघि सेनाका जवानहरुलाई पेटभरी खान नदिएको भन्दै यादवले एक भिडियो सार्वजनिक गरेका थिए । यादवको भिडियो भाइरल भएपछि भारतीय राजनीति र सेनामा हलचल मच्चिएको थियो । भिडियो सार्वजनिक गरेको आरोपमा बिएसएफले यादवलाई बर्खास्त गरेको थियो । यादवले निर्दलीय भएर उम्मेद्वारी दिएका थिए तर पछि उनलाई समाजवादी पार्टी र बहुजन समाज पार्टीले समर्थन गरेको थियो ।

निर्वाचन आयोगले यादवको उम्मेद्वारी रद्द गरेकोमा समाजवादी पार्टीले सार्वोच्च अदालत जाने बताएको छ । बनारसमा सातौं चरणमा १९ मईका दिन मतदान हुने छ ।

प्रतिक्रिया दिनुहोस