मेकअपमा राम्रै खर्च हुन्छ : आश्मा गिरी

मंगलबार, १० बैशाख २०७६, ०९ : ०५
मेकअपमा राम्रै खर्च हुन्छ : आश्मा गिरी

काठमाडौं । मलाई धेरै मेकअप मन पर्दैन । फिल्म, भिडियोमा त क्यारेक्टर, रोलअनुसार मेकअप गर्नुपर्छ । अरूवेलामा भने मलाई हल्का मेकअप नै राम्रो लाग्छ । घरमा त म त्यत्तिकै बस्छु । बाहिर निस्कनुपर्‍यो भने हल्का गाजल, सनब्लक क्रिम र फाउन्डेसन लगाउँछु । 

प्रायः मैले प्रयोग गर्ने मेकअप प्रसाधन मोस्चराइजर, सनब्लक क्रिम, प्राइमर, फाउन्डेसन, ब्लुसर आदि हुन् । म राति सुत्ने वेलामा जहिले पनि फेसवासले अनुहार धुन्छु । अनि टोनर र मोस्चराइजर लगाउँछु । प्राकृतिक सौन्दर्य कायम राख्न र स्किन स्वस्थ राख्नका लागि खानपिनले ठूलो सहयोग गर्ने गर्दछ । त्यसैले म फलफूल र सलाद धेरै खान्छु ।

पर्याप्त मात्रामा पानी पिउँछु । सकारात्मक सोचले पनि मुहारमा कान्ति ल्याउँछ । त्यसैले सधैँ सकारात्मक सोचविचार राख्ने गर्दछु । मलाई वेलावेलामा हेयर स्टाइल र कलर चेन्ज गर्न मन लाग्छ । त्यसैले पार्लर जाने गरेकी छु । महिनामा एकचोटिचाहिँ क्लिचिङ गराउँछु । पार्टी या कुनै विशेष कार्यक्रममा जाँदा भने अलि हेभी मेकअप गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि पार्लर जाने गरेकी छु । अरूवेलामा चाहिँ म आफ्नो मेकअप आफैँ गर्छु । 

मैले केही समयअघि मेकअपसम्बन्धी स्पेसल क्लास लिएकी थिएँ । त्यसकारण मलाई कस्तो अवस्थामा कस्तो मेकअप गर्ने भन्ने कुराको राम्रै ज्ञान छ । मेकअपका प्रडक्ट महँगा छन् । त्यसैले यसमा राम्रै खर्च हुने गरेको छ । एकपटक सुटिङको मेकअपले स्किन एलर्जी भएको थियो । त्यहाँदेखि म मेकअपमा निकै कन्सस छु । ब्रान्डेड प्रडक्ट मात्र प्रयोग गर्छु । मलाई तयार हुन अलि टाइम लाग्छ । मेकअप त राम्रैसँग गर्नुप¥यो नि, होइन र ! नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस