साइँलीको मनको ‘खत’

आइतबार, २४ चैत्र २०७५, १९ : २७
साइँलीको मनको ‘खत’

स्वप्निल स्मृति
‘साइँली’ फिल्म हेर्दा मलाई गाउँको एउटा घटना स्मरण भयो, ८–१० वर्षअघिको । दुईजना चेली वैदेशिक रोजगारीमा जान राहदानी बनाउने सुरसारमा थिए । तर, उनीहरूको कदमप्रति समाजको धारणा नकारात्मक बन्यो । धेरैले ती दुई चेलीलाई नजान सुझाए, ‘बिग्रिने’ भयका साथ । कसरी बिग्रिन्छ भन्दा लामै समय विदेश बसेर आएका एकजना दाइले तिमीहरूको ‘धनीपुर्जा’ बिग्रिन्छ भनिदिए । 

भनिन्छ– जनजाति समाज केही खुला हुन्छ । तर, यो पूर्ण सत्य भने होइन । खालि धर्मले जकडिएको खस–आर्य समाजको सापेक्षमा हेर्दा मात्र त्यस्तो देखिने हो । हाम्रो समाजमा छोरी मान्छेले गर्न हुने र नहुने काम पुरुषवादी अहं र स्वार्थबाट निर्देशित छ ।‘साइँली’ले हाम्रो समाजमा छोरी मान्छेलाई बुबा, लोग्ने या अरू नै भूमिकाबाट कसरी पुरुषवादी सोचले नत्थी लगाउने प्रयत्न गर्छ, त्यसमा विद्रोह गरे कसरी नाकाबन्दी लगाउँछ भन्ने यथार्थलाई बडो सटीक रूपमा देखायो भन्ने लाग्छ । साइँलीले घरको ऋण तिर्ने दायित्वलाई बोध गर्नु र त्यसका लागि वैदेशिक रोजगारमा जाने कदम उठाउनु एकदम जायज हो । तर, त्यही कदमले श्रीमान् पीताम्बरको दैत्यरूपी पुरुष अहं विस्फोट हुन्छ । यही कारण ऋण काढेरै भए पनि आर्जेको प्रेमको घरबार नरकमा परिणत हुन्छ । वास्तवमा आजको हाम्रो समाज यस्तै छ ।

सामन्तवादबाट पुँजीवादी समाजमा प्रवेश गरेका छौँ । ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डबीच कफीसपमा बिल कसले तिर्नेदेखि लिएर घर, समाज हुँदै सत्तासम्मै महिलाले समान हिस्सेदारीको खोजी गरिरहेका छन् । तर, यो आत्मसम्मानको लडाइँमा बाधक पुरुषवादी सोच रहिआएको छ । त्यसैले घर–घरमा कचिंगल छ, चुल्हो छुटेका छन्, डिभोर्स भइरहेको छ । सबै नराम्रो मात्र भएको छ भन्ने पनि होइन । तर, मूलतः पुरुषवादी अहंसँग महिला आत्मनिर्णयको शक्ति टकराइरहेको छ ।

प्रतीकात्मक रूपमा ‘साइँली’ आम नेपाली महिलाका प्रतिनिधि पात्र हुन् र उत्तिकै पुरुषका पनि । वैदेशिक रोजगारी देख्दा समाधान देखिए पनि एउटा समस्या हो । तर, त्यसैमा संलग्न हुनलाई पनि पुरुषवादी समाजको हार्दिक अनुमोदन छैन । विद्रोहै गर्नुपर्ने अवस्था छ । दलालमार्फत् सत्ताले आकाशपारि त पु-याउँछ, तर फर्केपछि पनि समाजमा समायोजन हुन महिलालाई समस्यै छ, जसरी साइँलीले विदेशमा कमाएर घरको ऋण तिर्छे, तर पीताम्बरबाट त्यति सजिलै न्याय पाउँदिन । माइत फर्कियो, स्थानीय सामन्त आफ्नै बुबा फुर्तीमान पनि दैलो बन्द गरिदिन्छन् ।

‘साइँली’ले हाम्रो समाजमा छोरी मान्छेलाई बुबा, लोग्ने या अरू नै भूमिकाबाट कसरी पुरुषवादी सोचले नत्थी लगाउने प्रयत्न गर्छ, त्यसमा विद्रोह गरे कसरी नाकाबन्दी लगाउँछ भन्ने यथार्थलाई बडो सटीक रूपमा देखायो भन्ने लाग्छ । 

फिल्मको सुरुका दृश्यमा पृष्ठभूमिमा हिमाल र त्यसमुनि पहिरोले खत लगाएको पहाड देखाइन्छ । त्यो ‘पहिरोको खत’ मलाई निकै प्रतीकात्मक लाग्यो । त्यो खत साइँलीले बिदेसिँदा पीताम्बरको पुरुषवादी अहंमा लागेको पनि हुन सक्छ, त्यत्रो माया गर्दा पनि पीताम्बरलाई नबुझेको साइँलीको मनको खत पनि हुन सक्छ । मेरो त मनमै, दिमागमै त्यो खत बस्यो ।

मिश्रित जाति–समुदाय रहेको गाउँको कथा हो फिल्म । त्यसैले गाउँलेबीचको प्रेम र आर्थिक सम्बन्धलाई यो फिल्मले परम्परागत प्रस्तुतिमा पनि उल्ट्याएको छ । जस्तैः वीरे अर्थात् दयाहाङ राई जो लाहुरे खानदानको हुन्छ उसले ब्राह्मण समुदायको पीताम्बरलाई हरकुरामा ‘लिड’ गर्नु, ‘इनोसेन्ट’ पीताम्बर बिस्तारै झगडिया हुनु, फुर्तीमान मगर साहु हुनु, भूतपूर्व वडाध्यक्ष म्यानपावर एजेन्ट बन्नु, साइँलीलाई पीताम्बरले सहर्ष बुहारी स्विकार्नु । यी कुराले फिल्मलाई नयाँपन र जीवन्तता दिएको छ । यसले हाम्रा सामाजिक सम्बन्धमा धिमा गतिमै भए पनि परिवर्तन हुँदै गएको संकेत गर्छ ।

दयाहाङ राई, माओत्से गुरुङ, पुष्कर गुरुङ, मेनका प्रधान, गौरव पहारी, केनिपा सिंह, किरण चाम्लिङको अभिनय स्याबासीदार छ । साँच्चिकै, हँसाउँदा हँसाउँदै रुवाउँछ, अनि क्लाइमेक्समा साइँली मुसुक्क मुस्कुराउँदा औधी खुसी तुल्याउँछ ।रामबाबु गुरुङले पहिलो चलचित्र ‘अनागरिक’बाट कथा छनोटमा जुन मौलिकताको बाटो पहिल्याएका थिए, बीचका धेरै फिल्म हुँदै ‘साइँली’सम्म आउँदा ‘अप् एन्ड डाउन्’ सहित जुन निरन्तरता दिएका छन्, ‘साइँली’बाट फेरि उनी ‘अप्’ भएका छन् । झननयाँ बाट 

प्रतिक्रिया दिनुहोस