बाइबल बाँडेको भन्दै गायिका अञ्जु पन्तमाथि आधारहीन आरोप

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १७ : ०७
बाइबल बाँडेको भन्दै गायिका अञ्जु पन्तमाथि आधारहीन आरोप

काठमाडौं । बारा पुगेर हावाहुरी पीडितलाई राहतको नाममा बाइबल बाँडेको भनेर गायिका अञ्जु पन्तमाथि आधारहीन आरोप लगाइएको छ । करिब चार महिना पुरानो तस्बिर फेसबुकमा राखेर गायिका पन्तमाथि आधारहीन आरोप लगाइएको हो ।

सामाजिक सन्जालमा भाइरल भएको फोटोमा अन्जु पन्त एउटा गाडीको ह्याचब्याकभन्दा पछाडि उभिएकी छिन् । उनको एउटा हातमा मोबाइल छ । अर्को हातले उनले गाडीमा राखिएका सामानमा छोएकी छिन् । भाइरल तस्बिरको बारेमा जिज्ञासा राख्दा काठमाडौंमा रहेकी गायिका पन्तले भनिन्, ‘त्यो अस्ति नै मुसहर बस्ती र एचआइभी एड्स पीडित बालबालिकालाई सहयोग गर्न जाँदाको तस्वीर हो । हेर्नुस्, न कहिले कहिलेको तस्वीर ल्याएर अहिले सामाजिक सन्जालमा मेरो बदनाम गर्न खोजिएको छ । ती सबै कापीहरु हुन् । मैले आजसम्म कतै बाइबल बाँडेकी छैन । स्टेसनरी सामान र ब्यागहरु लिएर अध्ययनबाट वन्चित नानीबाबुहरुलाई सहयोग गर्न गएकी थिएँ ।’

त्यही तस्बिर राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले बाइबल र केही राहत सामग्री बोकेर पन्त बारा पुगेको दाबी गर्दै धमाधम विरोध गर्न थाले । भाइरल बनेको उक्त तस्बिर अहिलेको नभएर पुरानो भएको खुलेको छ । त्यो पनि अहिले दाबी गरिएजस्तो बाइबल नभएर किताब–कपी भएको खुलेको छ । गत डिसेम्बर ५ मा वीरगन्ज कारागार भित्र रहेको समता स्कुलका विद्यार्र्थीहरुलाई पन्तले निःशूल्क कापी, झोला लगायत सामाग्रीहरु वितरण गरेकी थिइन् । त्यही फोटोलाई अहिले सामाजिक प्रयोगकर्ताहरुले गलत प्रचार गरेको पाइएको छ । जुन कुराको अञ्जु पन्तले नै गएको डिसेम्बर ५ मा आफ्नो फेसबुक पेजमार्फत यो तस्बिर सार्वजनिक गरेबाट पुष्टि हुन्छ ।

पन्तले अहिले स्वास्थ्यका कारण बारा जान नसकेको र आफू नगए पनि त्यहाँ २ लाख पठाएको बताइन् । ‘केही थान पाल र झुल पनि पठाएकी छु,’ उनले भनिन्, ‘यहाँ जज भएर काम गरिरहेकी मलाई बित्थामा बारामा गएर बाइबल बाँडिरहेकी छे भनेर निरुत्साहित गर्न खोजिएको छ ।’ गायिका अन्जुले यस्ता अफवाह फैलाउँदा केही राम्रो काम गर्न खोज्नेको पनि मोरल डाउन हुने र राम्रा काम पनि कम हुने बताइन् । अन्जु पन्तले क्रिश्चियन धर्म अँगालेको केही वर्ष भइसकेको छ ।

झुक्किए कमल थापा
सामाजिक सञ्जालमा यो तस्बिर भाइरल भइरहँदा राप्रपा अध्यक्ष कमल थापासमेत हल्लाको पछि लागेर हेलो सरकार र प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गुहार गर्न पुगेका छन् । हिन्दुवादी पार्टी राप्रपाका अध्यक्ष थापाले अञ्जु पन्तलाई नै लक्षित गर्दै ट्वीटरमा लेखेका छन्, ‘राहत वितरणको आवरणमा धर्म प्रचार र बाइबल बाँड्ने कार्य हुन लागेको जानकारी प्राप्त भएको छ । यो कार्य तत्काल रोकियोस् । यसतर्फ सरकार र सम्बद्ध सबैलाई समयमा नै सचेत रहन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस