गोरखा । भीमसेन गाउँपालिका प्रमुख ईश्वर पाण्डेले जनभावना विपरीत बहुमतका आडमा निरङ्कुशता लादेर गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेको विरोधमा असन्तुष्ट पक्षले सर्वोच्च अदालतको ढोका ढकढक्याउने भएका छन् । गाउँपालिकाको केन्द्र सार्ने निर्णय प्रक्रियागत रूपमा पनि गलत भएको उनीहरूको दाबी छ । जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले सर्वोच्व अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए ।
‘गाउँपालिका प्रमुख ईश्वर पाण्डेले किर्ते गरेर हस्ताक्षर पु¥याउनु भएको छ, त्यसको प्रमाण हामीसँग छ । स्टे अर्डरको माग गर्दै सर्वोच्च जान्छौँ’, श्रेष्ठले भने ।
उक्त निर्णय गराउने क्रममा केन्द्र सार्ने ऐजेण्डा बैठकको कार्यसूचिमा नराखि विभिन्न शीर्षकबाट विषय प्रवेश गराएपछि विवाद भएको माओवादी निकटका जनप्रतिनिधिको भनाई छ ।
‘हामीलाई झुक्याएर बैठकमा बोलाइयो, षडयन्त्रपूर्वक यो काम गरिएको छ । जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र सरकार सबैलाई ज्ञापनपत्र बुझाइ सक्यौँ । तर कसैले सुनेन । अब सर्वोच्च जानु भन्दा अर्को विकल्प हामीसँग छैन’, उनले भने ।
गत कात्र्तिक १९ गते गाउँपालिकाको बैठकमा केन्द्र सार्ने विषय प्रायोजित ढङ्गले प्रस्तुत गरिएको र सोही क्रममा विवाद हुँदा च्यातिएको माइन्युट किर्ते गरेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पेश गरिएको असन्तुष्टहरूको आरोप छ ।
पत्रकार सम्मेलनमा भिमसेन गाउँपालिकामा क्रियाशिल माओवादी केन्द्र र एमालेका नेता कायकर्ता तथा अध्यक्ष पराजित भएका माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बञ्जारा समेत उपस्थित थिए ।
उक्त निर्णय मन्त्रिपरिषदमा पुगेसँगै आन्दोलनमा उत्रिएका उनीहरुले सोही दिन देखि गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । केन्द्रमा ताल्चा लगाइएको छ । केन्द्र सार्ने विषयमा बगुवा बाहेक अर्को विकल्पमा छलफल गर्न समेत तयार रहेको तर घ्याम्पेसाल केन्द्र नमान्ने उनीहरुको भनाई छ ।
उक्त निर्णयमा पुर्नविचार नभएसम्म संर्घष जारी राख्ने बञ्जाराले बताए । ‘उहाँ एक्लै हिँड्नु हुन्छ भने हामी पनि असहयोग गर्छौं, जनतासामु गएर भण्डाफोर गर्नुको विकल्प हुँदैन’, बञ्जाराले भने ।
भिमेसन गाउँपालिकामा काँग्रेसको बहुमत छ । ४४ सदस्ययीय गाउँपालिका रहेका त्यहाँ अध्यक्ष, उपाध्यक्ष र २७ गाउँ कार्यपालिका सदस्य समेत रहेको काँग्रेसले बहुमको निर्णय गरे पनि लोकतान्त्रिक विधिपूर्वक गर्नुपर्ने उनीहरुको माग छ ।
माओवादी केन्द्रको भने १५ मत छ । गत कार्तिक १९ गते भिमसेन गाउँपालिकाको केन्द्र सार्ने बिषयमा विवाद हुँदा झडप समेत भएको थियो । त्यसयता असन्तुष्टहरूले विरोधका विभिन्न कार्यक्रम समेत गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस