सरकारको विरोध गर्न पोखरामा पुगेका गगन थापालाई कांग्रेसकै विरोध

सोमबार, २१ माघ २०७५, २० : ३९
सरकारको विरोध गर्न पोखरामा पुगेका गगन थापालाई कांग्रेसकै विरोध

पोखरा : सोमाबार पोखरा पुगेका नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाविरुद्ध उनकै पार्टीको भातृसंस्था नेविसंघका कार्यकर्ताले सोमबार पोखरामा कालो झण्डा देखाएका छन् ।

सरकार विरोधी आन्दोलनका क्रममा नेविसंघले पोखरा महानगरपालिकाको गाडी शनिबार जलाएको थियो । उक्त घटनाको गगनले निन्दा गरेका थिए । घटनापछि नेविसंघका ५ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा पनि छन् ।

नेविसंघले गरेको कार्यप्रति समर्थन जनाउनुको साटो निन्दा गरेको विरोध स्वरुप उनीहरुले गगनविरुद्ध कालो झन्डा देखाएका हुन् । गगन कांग्रेसले सरकार विरुद्ध सोमबार आह्वान गरेको देशव्यापी प्रदर्शनका क्रममा पोखराको चिप्लेढुंगामा सभालाई सम्बोधन गर्दै थिए ।

उनले सम्बोधन गरिरहेकै बेला नेविसंघ कास्कीका एक अगुवा विकास थापाको समूहले कालो झन्डा देखाएको थियो । विकास स्वयंले दाहिने हातमा नेविसंघको रातो र अर्कोमा कालो झण्डा देखाएका थिए ।

नेविसंघ जिन्दावाद, पक्राउ परेका साथीलाई तुरुन्त रिहा गर लगायत नारा विकास थापा समूहले लगाएको थियो । उनले गगनबाट व्यक्त धारणा पनि फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने बताएका थिए । सरकारी गाडीमा आगजनी आरोपमा नेविसंघका लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेल प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस