सात महिनाभित्र भरतपुर विमानस्थलमा रात्रीकालिन सेवा सुरु हुने, समस्या समधान गर्न भरतपुर महानगरले तत्काल कदम चाल्ने

आइतबार, २० माघ २०७५, १७ : २३
सात महिनाभित्र भरतपुर विमानस्थलमा रात्रीकालिन सेवा सुरु हुने, समस्या समधान गर्न भरतपुर महानगरले तत्काल कदम चाल्ने

चितवन । नेपाल सरकारका संस्कृति तथा पर्यटन तथा नागरिक मन्त्री रवीन्द्र अधिकारीले भरतपुर विमानस्थलमा ७ महिनाभित्र रात्रीकालिन सेवा सुरु गर्ने बताउनुभएको छ । 
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग आईतबार कुराकानी गर्दै मन्त्री अधिकारीले भरतपुर विमानस्थलमा तत्काल सुधार गर्नुपर्ने समस्या समधान गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

‘भरतपुर विमानस्थललाई थप सुरक्षित बनाउन मन्त्रालयको चासो छ ,‘उहाँले भन्नुभयो,‘विमानस्थलका वरिपरि निर्माण भएका जोखिमयुक्त भौतिक संरचना हटाउने काम गर्नुपर्छ । समस्या समधान भए एक महिनादेखि सात महिनाभित्र रात्रीकालिन समयमा ७२ सिट क्षमता भएको विमान उडान भर्न सकिन्छ ।’

मन्त्री अधिकारीले भरतपुर महानगरपालिका विमानस्थलको जोखिमयुक्त क्षेत्रमा बनेका ट्रस, टहरा हटाएर, नयाँ भौतिक संरचना निर्माणको स्वीकृत नदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको जानकारी दिनुभयो । उहाँले विमानस्थललाई थप व्यवस्थित बनाउन उत्तरी भागमा रहेको नेपाली सेनाको ब्यारेकलाई स्थान्तरण गर्न पहल थालिने बताउनुभयो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विमानस्थलको अहिले देखिएको समस्या समधानको लागि जोखिमयुक्त टहरा, ट्रसलाई हटाईने र विद्युतको तारलाई अण्डरग्राउण्ड गर्ने कामलाई अघि बढाईने बताउनुभयो ।
‘विमानस्थलको क्षेत्रपनि साँघुरो छ’ उहाँले भन्नुभयो, ‘३ तलामाथिका ट्रसलाई हटाउने निर्णय भएको छ । विमान ल्याण्ड गर्ने ठाँउमा जोखिमयुक्त समस्यालाई तत्काल समधान गर्न महानगरपालिकाले कदम चाल्छ ।’   
प्रमुख दाहालले विमानस्थलको दिर्घकालिन समस्या समधान गर्न र ७२ सिटको विमान सञ्चलानमा ल्याउन घोडा प्रजनन केन्द्रसम्मको जग्गासम्म विमानस्थल विस्तार गर्ने विषयमा पनि पहल गरिने बताउनुभयो ।           

प्रतिक्रिया दिनुहोस