डा केसीसँगको सम्झौता सरकारले तोड्यो : प्रवक्ता शर्मा

शुक्रबार, १८ माघ २०७५, १२ : ३४
डा केसीसँगको सम्झौता सरकारले तोड्यो : प्रवक्ता शर्मा

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गर्नुभएको छ । 

प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको बताउनुभयो । 

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डा केसीसँगको सम्झौता भएको तर त्यसमा समेत कुनै सुनुवाइ नभएको प्रवक्ता शर्माले उल्लेख गर्नुभयो । 

विसं २०४६ अघि दुई मेडिकल कलेज भएको देशमा अहिले दुई दर्जन पुगेका उल्लेख गर्दै उहाँले राजधानी काठमाडाँैमा अहिले मेडिकल कलेज आवश्यक नरहेको बताउनुभयो । 

डा केसीका माग वर्तमान सरकारले सम्बोधन नगरे पनि बहुमत आउँदाको अवस्थामा ती मागलाई सम्बोधन गर्न काङ्ग्रेस तयार रहेको उहाँले बताउनुभयो । अनशन बसेको २३ दिन पुग्दै गर्दा डा केसीको स्वास्थ्य गम्भीर बन्दै गएको बताउँदै प्रवक्ता शर्माले डा केसीको जीवनरक्षा नगरे आन्दोलन चर्काउने चेतावनी दिनुभयो । 

सरकारले एक वर्षको अवधिमा कुनै जनपक्षीय काम नगरेको आरोप लगाउँदै उहाँले भ्रष्टाचार, अनियमितताका साथै सरकारको मनोमानीका विरोधमा काङ्ग्रेसले माघ २१ गते देशैभरि विरोधको कार्यक्रम अगाडि सारेको जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस