उपचारका लागि एमाले अध्यक्ष ओली बैंकक जाँदै

शुक्रबार, २१ पुस २०७४, १५ : २६
उपचारका लागि एमाले अध्यक्ष ओली बैंकक जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि पुस २६ गते बैंकक जाने भएका छन् ।

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई नियमित तालिका अनुसार यसअघि नै स्वास्थ्य परीक्षाणका लागि जानुपर्ने भएपनि चुनावी व्यस्तताका कारण जान नपाएको बताइएको छ ।

अध्यक्ष ओलीको भ्रमण पुस २६ गतेदेखि ३० सम्मका लागि तय भएको जनाइएको छ । ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । वाम गठबन्धनको घोषणा यता निकै व्यस्त रहेका ओली करिब एक सातादेखि निवासमै आराम गरिरहेको बताइन्छ ।

नयाँ सरकार गठन नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका लागि घनिभूत रुपमा लाग्नु पर्ने समयमा ओलीको अस्वास्थताका कारण एकता संयोजन समितिको समेत बैठक बस्न सकेको छैन ।

बिहीबारको सर्वदलीय बैठकमा अध्यक्ष ओली उपस्थित नभएर एमालेबाट भीम रावल, सुवास नेम्वाङ, बिष्णु पौडेल लगायतका नेतालाई पठाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस