चितवनका कुखुरापालक किसान घाटामा

शनिबार, ०८ मंसिर २०७५, १४ : १३
चितवनका कुखुरापालक किसान घाटामा

– नारायण अधिकारी 
चितवन ।  कुखुराजन्य उत्पादनको मूल्यमा निकै गिरावट आएपछि किसान प्रभावित भएका छन् । अण्डा र मासु दुबैको लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम रहेकाले कुखुरापालक किसान घाटामा जान थालेका छन् । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिको जानकारी अनुसार एउटा अण्डाकोलागत मूल्यभन्दा बिक्री मूल्य रु दुई प्रतिगोटा कम छ । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दैनिक ३५ लाख गोटा अण्डा उत्पादन हुनेगर्दछ । अण्डाबाट किसानले दैनिक रु ७० लाख नोक्सान व्यहोरिरहेको उहाँले बताउनुभयो ।

सङ्घले हाल फार्म मूल्य प्रतिक्रेट ठूलो अण्डा रु २३० र मझौला अण्डा रु २०० तोकेको भए पनि बजारमा ठूलो अण्डा रु २०० को हाराहारी र मझौला रु १८० हाराहारीमा बिक्री भएको कँडेलले बताउनुभयो । अण्डाको लागत मूल्य रु नौ रुपैयाँ पर्ने गर्दछ । जसबाट लेयर्स कुखुरा पाल्ने दुई हजार किसानले नोक्सान व्यहोरिरहेको उहाँले बताउनुभयो । 

नेपालमा कुखुरापालन क्षेत्रमा ७० अर्ब लगानी रहेको व्यवसायी बताउँछन् । यसको आधा हिस्सा लेयर्स कुखुरा पालनमा लगानी भएको छ । आधाभन्दा बढीमा बैंकको ऋण रहेको छ । कँडेलले किसान बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अब तीन महीना यस्तै रह्यो भने आधा किसान व्ययवसायबाट विस्थापित हुन बाध्य हुन्छन् ।” उता कुखुराको मासुको मूल्य अत्यधिक घटेपछि बोइलर कुखुरापालक किसान पनि प्रभावित बनेका छन् । कुखुरापालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेलले किसानले मासुमा प्रतिकिलो रु ४० नोक्सान व्यहोरिरहेका बताउनुभयो । 
फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १३५ मा बिक्री भइरहेको छ । लागत मूल्य प्रतिकिलो रु १७५ पर्ने उहाँको भनाइ छ । देशभरमा ४० हजारभन्दा बढी कृषक बोइलर कुखुरा पाल्छन् । चल्ला, दानाको मूल्य बढी तिरेर पनि कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्दा निकै नोक्सान व्यहोर्नु परेको उहाँले बताउनुभयो । 

सङ्घले दाना उत्पादन सघ, ह्याचरी उद्योग सङ्घ र सप्लायर्ससँग सहयोगको आह्वान गरेको भए पनि कसैले चासो नदेखाएको उहाँले बताउनुभयो । देशका ठूला कोल्ड स्टोर्सले सस्तोमा कुखुरा खरीद गरेर गोदाम भर्ने र महङ्गो मूल्यमा मासु बिक्री गर्ने गरेका कारण किसान मर्कामा परेका बताइएको छ । यसका साथै अवैध रुपमा भारतीय बजारबाट मासु भित्र्याउदा पनि किसान प्रभावित बनेका पौडेलको भनाइ छ । 

यस्तै अवस्था रहे किसानले शुरुमा चल्ला उठाउन बन्द गर्ने, त्यसपछि दाना रोकेर आन्दोलन थाल्ने उहाँले चेतावनी दिनुभयो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्लाको मूल्यमा समेत गिरावट आएको छ । रु ७५ प्रतिगोटा बिक्री हुँदै आएको बोइलर चल्ला रु ५५देखि ६० मा झरेको छ, भने रु १७० मा बिक्री हुँदै आएको लेयर्स चल्ला रु ७५ मा झरेको छ । 

मासुको मूल्य बजारमा बढी भए पनि किसानले जिउँदो कुखुराको मूल्य कम पाएको पोखरेलले बताउनुभयो । बजारमा रु २५० भन्दा बढीमा तयारी मासु बिक्री हुँदासमेत किसानको फर्ममा जिउँदो कुखुराको मूल्य निकै कम रहेको छ । 
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष समेत रहनुभएका पोखरेलले अण्डा उत्पादक किसानको आपसीे प्रतिस्पर्धाले मूल्यमा गिरावट आएको बताउनुभयो । बजार व्यवस्थित हुन नसकेमा दीर्घकालीन रुपमा कुखुरा व्यवसाय प्रभावित हुने भन्दै उहाँले किसानबीचको एकता र राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस