कुनै पनि शर्तमा वाम गठबन्धन विजयी हुनुपर्छ : न्यौपाने

मंगलबार, २१ कार्तिक २०७४, १६ : ५१
कुनै पनि शर्तमा वाम गठबन्धन विजयी हुनुपर्छ : न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रले वाम गठबन्धनको भावना र मर्मअनुसार चुनावी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रको जिल्ला संगठन समिति काठमाडौंको मंगलबार बसेको बैठकले राष्ट्रिय आवश्यकताअनुसार वाम तालमेल र पार्टी एकताको समेत निर्णय भएकाले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनलाई सफल बनाउन र वामगठबन्धनलाई जिताउन लागिपर्ने निर्णय गरेको हो ।

सो पार्टीका काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले कुनै पनि शर्तमा वाम गठबन्धन विजयी हुनुपर्छ भन्ने मान्यतालाई प्रत्येक नेता तथा कार्यकर्ताले आत्मसात् गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

गठबन्धनमा सहभागी नेकपा एमालेसँगको छलफलपछि एकीकृत र केन्द्रीतकृत चुनाव परिचालन समिति गठन गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये तीन वटामा माओवादी केन्द्र र सात वटामा एमालेले उम्मेदवारी दिएका छन् ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्मा, क्षेत्र नं ६ का उम्मेदवार झक्कुप्रसाद सुवेदी र क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्यले चुनावी योजना पेश गर्दै पार्टी र गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस