काठमाडौं। गृहमन्त्री रमेश लेखकले सरकारले प्राकृतिक विपद्बाट प्रभावित सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले क्रियाशील रुपमा मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य गरिरहेको बताएका हुन् । उनले मनसुनबाट ७७ जिल्ला नै प्रभावित भएका उल्लेख गर्दै सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताए ।
मनसुनजन्य विपद्बाट भएका क्षति र प्रतिकार्यमा मन्त्रालयले गरिरहेको कार्यबारे उनले जानकारी दिए । सरकारले आफ्नो स्रोत र साधन परिचालन गरी प्रतिकार्यलाई प्रभावकारी बनाइरहेको उनले बताए ।
'मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१, बमोजिम तीनवटै तहका संयन्त्र र गृह मन्त्रालयबाट विपद्का घटनामा तत्काल उद्धार, राहत एवं प्रतिकार्यका कार्यहरू भइरहेका छन्,' गृहमन्त्री लेखकले भने, 'विपद् व्यवस्थापनमा सबै सुरक्षा निकाय, विभिन्न मन्त्रालय तथा विभाग बीचको समन्वयमा केन्द्रीय ‘कमान्ड पोष्ट’ले काम गरिरहेको छ ।
एक सय ३० जनाको मृत्यु, ४८ बेपत्ता
गृहमन्त्रीले गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य विपद्का घटनामा परी एक सय ३० जनाको मृत्यु भएको, एक सय ४४ जना घाइते र ४८ जना बेपत्ता भएका जानकारी दिए ।
यसैगरी,चार हजार घरपरिवार विस्थापित भएका, एक हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको पाँच सय ९४ पशु चौपाया मरेका तथा दुई सय ३१ घर र ८४ गोठमा क्षति पुगेको बताए ।
वर्षाजन्य विपद्बाट ४३ वटा साना ठूला पुल बगेका, दुई वटा सरकारी भवन भत्किएका, खोज र उद्धारका लागि नेपाल प्रहरीबाट सात हजार एक सय ६९ जना र सशस्त्र प्रहरी बल नेपालबाट तीन हजार नौ सय ५६ जना परिचालन भएका उनले जानकारी दिए ।
गृहमन्त्रीका अनुसार नौ सय ८९ जनाको सकुशल उद्धार भएको छ । विपद्जन्य घटनामा ज्यान गुमाएका एक सय ३० जनामध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ भने बाँकी परिवार राहत पाउने प्रक्रियामा छन् ।
त्यसैगरी ४८ जना बेपत्ता छन् । सरकारले बेपत्ता भएकालाई १० दिनभित्र पत्ता नलागे मृतक सरह राहत उपलब्ध गराउने निर्णयअनुसार उनीहरुका परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने प्रक्रिया प्रारम्भ भएको गृहमन्त्री लेखकले सदनलाई जानकारी गराए ।दैवी विपत्तिमा घाइते भएका एक सय ४४ जनामध्ये पाँच जना उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनसुनजन्य विपद् : मृतकका परिवारलाई ६ लाख ५० हजार राहत वितरण
मनसुनजन्य विपद् : २८ जनाको मृत्यु, चट्याङबाट ३२ जिल्ला प्रभावित