‘के घर के डेरा : घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्धित

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०८१, १५ : ५७
‘के घर के डेरा : घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्धित

काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा : घर नम्बर २’ मा निश्चल बस्नेतको प्रवेश भएको छ । यो सोसल–ड्रामा फिल्मको महत्वपूर्ण भूमिकामा उनी अनुबन्धित भएको जनाइएको छ ।

अभिनेता खगेन्द्र लामिछानेपछि फिल्मको एक्टर–लाइनअपमा निश्चल जोडिएका हुन् । ‘कथावस्तु बलियो देखिएपछि काम गर्न तयार भएको हुँ,’ साइन गरेपछि बस्नेतले भने ।

फिल्ममा दुईजना मुख्य नायिका हुने र त्यसबारे चाँडै तय हुने जनाइएको छ । निश्चलले डेरावालको भूमिका निर्वाह गर्नेछन् । आफूलाई रजतपटमा निर्देशकको रुपमा स्थापित गरेका निश्चलले अभिनेताको रुपमा पनि अघि बढाइरहेका छन् । पहिलोपटक उनले अनुप बरालको ‘फिटकिरी’मा अभिनय गरेका थिए । त्यसपछि उनले कबड्डी, टलकजंग भर्सेस टुल्के, कबड्डी २, दुई रुपियाँ, प्रसाद, घामड शेरे र अगस्त्यमा अभिनेताको रुपमा काम गरे ।

‘के घर के डेरा : घर नम्बर २’ को कुरा गर्दा ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा बुद्धिसागरले लेखेका हुन् । शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् । फिल्मको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ । फिल्मलाई २०८१ सालभित्र प्रदर्शनमा ल्याइने निर्माता श्रेष्ठले जनाए ।

 

प्रतिक्रिया दिनुहोस