बाढी पीडितलाई क्षतिपूर्ति र पुनर्स्थापना गर्न एनपी साउदको माग

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८१, १४ : २६
बाढी पीडितलाई क्षतिपूर्ति र पुनर्स्थापना गर्न एनपी साउदको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एनपी साउदले गृह जिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक सङ्घ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढीले पु-याएको विपदलाई छोड्न नसकिने बताए ।

‘कञ्चनपुरमा बाढीले ठुलो संख्यामा जीवन र धन दुवैको क्षति भएको छ । आवश्यक राहतको केन्द्र सरकारले प्रबन्ध गर्न र उद्धारका कामहरूलाई अगाडि बढाउन, दिवङ्गतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरूलाई तत्काल पुनर्स्थापनाको काममा पनि केन्द्र सरकारले ध्यान दिन आवश्यक छ,’ साउदले भने, ‘स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक सङ्घ–संस्थाको भरमा मात्रै यत्रो ठुलो विपद्लाई छाड्न सकिन्न ।

यतातिर सरकारको ध्यान जाओस् ।’साउदले बाढी नियन्त्रण र तटबन्ध निर्माणमा उपयुक्त समयमा सरकारले ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको बताए ।   

‘पटक–पटक सरकारलाई बाढीको पूर्व तयारी गर्नुपर्छ भन्दै आएका छौँ । बाढी नियन्त्रणको काममा सरकार सजग रहनुपर्छ भन्दै आएका छौँ,’ उनले भने, ‘तर अहिलेसम्म सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको छ ।’   

साउदले बाढी–पहिरोबाट देशभर ८० जनाको मृत्यु भइसकेको पनि संसदलाई जानकारी गराए । ‘बाढीपहिरोबाट देशभरी ८० को जीवन समाप्त भइसकेको अवस्था छ । कञ्चनपुरमा भीषण बाढी रेकर्डको रूपमा रहिआएको छ,’ उनले भने, ‘कञ्चनपुरको पुनर्वास नगरपालिका– ५ रातोखाली खोलामा लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको देहवसान भएको छ । कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि निधन भएको छ ।

बेलडाँडी गाउँपालिका–३ बैबाहका २३ डम्बर चौधरी वेपत्ता अवस्थामा हुनुहुन्छ । दोधारा–चाँदनी नगरपालिकामा भर्खरै एउटा महिलाको शव फेला परेको खबर आएको छ । पहिचान भइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस