साढे ३३ किलो सुन प्रकरण : सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान जारी

आइतबार, १४ असोज २०७५, १४ : २८
साढे ३३ किलो सुन प्रकरण : सुन तस्करी र सनम शाक्य हत्याको  अनुसन्धान जारी

फाइल फोटो

विराटनगर : गृहमन्त्री रामबहादुर थापा बादलले ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्न व्यक्तिका विषयमा अनुसन्धान जारी रहेको खुलासा गरेका छन् ।

यसअघि सुन तस्करी काण्डमा पक्राउ परेकाहरु धमाधम छुटिरहेका भन्दै समचार आएको थियो । तर गृहमन्त्री थापाले अनुसन्धान प्रतिवेदनमा उल्लेखित व्यक्तिका विषयमा छानबिन भइरहेको बताएका हुन् ।

लागूऔषध ,मदिरा तथा हिंसाविरुद्ध अभियान सुरुवातका लागि प्रदेश १ पुगेका मन्त्री थापाले आइतबार विराटनगरमा अयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा घटनामा संलग्न केहि व्यक्ति पक्राउ हुने जानकारी पनि दिए । 

समय आएपछि मन्त्रीपरिषदबाट निर्णय गराएर सुन अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने उनले दाबी गरे । निर्णयाधिकार मन्त्रीपरिषदको भएकाले त्यसका लागि प्रस्ताव लैजान सकिने मन्त्री थापाको भनाई छ ।

सरकारले सुनकाण्ड र सनम शाक्यको हत्याकाण्ड अनुसन्धानका लागि गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो । समितिले ७ सय ५२ पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस