लागु औषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १७ चैत्र २०८०, १६ : ४२
लागु औषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पर्साको वीरगंज महानगरपालिका-१८ ईनर्वा मनियारी बस्ने ३० वर्षीय अजित कुमार सिंहलाई अवैध लागु औषध गाँजा २ किलोसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

पर्साकै वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही नगरपालिका नगवा चोक बस्ने २० वर्षीय सुजन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका-४ तल्लो खलंगाबाट अवैध लागु औषध चरेश जस्तो देखिने पदार्थ ४ सय ९५ मिलिग्रामसहित सोही ठाउँ बस्ने ४३ वर्षीय कमल गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरीले से.७ प ३६१५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक गुरुङलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता झापाको कन्काई नगरपालिका-३ डाईमन टोलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम र अवैध लागु औषध गाँजा ४ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २१ वर्षीय सन्जय चौधरी र ३० वर्षीय रोशन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यलय सुरुङगाबाट खटिएको प्रहरीले सन्जयको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र रोशनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

झापाकै भद्रपुर नगरपालिका-५ मेचिपुलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका-२ बस्ने २४ वर्षीय कमल बिक र २० वर्षीय प्रतिक तामाङ रहेका छन् । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मे.३ प ७८११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

झापाकै मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित भोजपुर ट्याम्केमैयुम गाउँपालिका-७ बस्ने २९ वर्षीय उगेन दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका-७ पाथिभरा टोलबाट अवैध लागु औषध ब्राउनसुगर करिब २ ग्राम ५१ मिलिग्रामसहित २ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्रउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय जीबन लिम्बु र २६ वर्षीय सुमन लिम्बु रहेका छन् ।

सुन्दरहरैचा नगरपालिका-७ पाथिभरा बस्ने कमला वानेमको घरमा लागु औषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले कमलाको घर तलासी गर्दा उनको घरमा पाहुना आएका दुवै जनालाई उक्त लागु औषधसहित फेला पारी पक्राउ गेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।