काठमाडौँ : गरिबि निवारण कोषका उपाध्यक्ष यम बहादुर थापाले ‘पदका लागि महिलाहरू आफ्नो इज्जत बेच्छन’ भनेपछि कोषको संचालक समितिको बैठकमा उजुरी परेको छ । गत असार ४ गते कोषका ९ जना अधिकृतस्तरको बैठकमा उपाध्यक्ष थापाले यस्तो शब्द प्रयोग गरेका थिए । कोषका उपाध्यक्ष थापाको भनाई समेत सुरक्षित रहेको कर्मचारीहरु बताउँछन् । कार्यालय परिसरभित्रै उपाध्यक्षले महिलामाथि आपत्तीजनक शब्द बेला बेलामा प्रयोग गर्ने गरेको कोषका कर्मचारीहरू बताउँछन् । कोषमा हाल ६७ कर्मचारी कार्यरत छन् ।
त्यस्तै थापाले कोषकी एक सहायकस्तरकी कर्मचारीमाथि यौन हिंसा गरेको आरोप लागेको छ । स्रोतका अनुसार, कोषकी कार्यक्रम सहायकले गत साउन २० मा कोषका सञ्चालक समितिका सदस्यहरूलाई चार पेज लामो उजुरी दर्ता गराएकी छिन् । सञ्चालक समितिका सदस्यहरू विजयनारायण श्रेष्ठ, नारायण कोइराला, महादेव बडू र विश्वशान्ति विष्टलाई ती महिला कर्मचारीले छुट्टाछुट्टै निबेदन दर्ता गरेकी छन् ।
महिला हिंसा गरेको भन्दै परेको उजुरीमाथि छानबिन सुरु भएको छ । उपाध्यक्ष थापाले कार्यालयभित्रै महिलामाथि आपत्तीजनक अभिव्यक्ति बोल्ने गरेको आरोप उजुरी पत्रमा उल्लेख छ ।
यस विषयमा आपत्ती जनाउँदा थापाले उल्टै आफूलाई तर्साउने, थर्काउने र मनपरी बोल्ने गरेको आरोप पीडितले उजरीमा भनेकी छन् ।
यस बारे कोषका उपाध्यक्ष डा यम बहादुर थापालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रतिक्रिया दिनुहोस