जनताले एमालेको सरकार चाहेका छन् : केपी ओली

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, २० : ३२
जनताले एमालेको सरकार चाहेका छन् : केपी ओली

खुर्कोट (सिन्धुली) । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकारबाहेक अरूले देश विकास गर्न नसक्ने बताएका छन् । ओलीले एमालेले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन संकल्पयात्रा सुरु गरेको दाबी गरे । 

झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा खुर्कोटमा मङ्गलवार भएको जन संवाद कार्यक्रममा उनले अरु पार्टीको सरकारले देश विनास गर्ने भएकाले जनताले एमालेको सरकार चाहेको बताए । उनले एमालेकै नेतृत्वमा राष्ट्रको समृद्धि हुने ठोकुवा गरे ।

‘आज सङ्कल्प यात्राको १३ दिन हो’, उनले भने, ‘यात्राको क्रममा हामीले विभिन्न क्षेत्रका विषयमा मागपत्र, ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझ्दै आएका छौँ । त्यसलाई अध्ययन गरी त्यस ठाउँको विकास र राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन स्थलगत रूपमा अध्ययन गरेका छौँ । बृहत्तर योजनाहरू बनाइरहेका छौँ ।’

अध्यक्ष ओलीले त्यसै सन्दर्भमा जनतासँग भेटघाट र सम्बन्ध बढाउँदै, मागहरू सुन्दै र आफ्ना भनाइहरू राख्दै खुर्कोट आइपुगेको बताए । जनताबाट गरिबी हटाउने, देशमा समृद्धि ल्याउने र जनतालाई शान्तिपूर्ण, सुखमय, समतामूलक समाज निर्माणमा प्रेरित गर्ने काम एमालेले गरिरहेको उनको भनाइ थियो ।

सिन्धुली जिल्ला प्रवेश गर्दा उत्साहपूर्ण स्वागत, सम्मान र मायाप्राप्त गरेको चर्चा गर्दै उनले त्यसले सङ्कल्प यात्रामा हिँडेको टोलीको मनोबल उच्च बनाउन योगदान पुगेको सुनाए । एमाले अध्यक्ष ओलीले खुर्कोटमा सिन्धुलीका पत्रकार शेषराज दाहालले लेखेको चुच्चे नक्साको पुस्तक विमोचन गरेका थिए । स्थानीयले उनलाई चियाबारी-खुर्कोट सुरुङमार्ग निर्माणका लागि मागपत्र बुझाएका थिए ।

कार्यक्रममा कलाघर सिन्धुलीले प्रस्तुति गरेको खैँजडी भजनमा एमाले अध्यक्ष ओली पनि सँगै नाचेका थिए । यात्राको क्रममा टोलीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा पुगेर सहिद बाबुराम बरालको सालिकमा माल्यार्पण र स्थानीयसँग भेटघाट गरेको छ ।

नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पार्टीले संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो । यात्रामा पार्टीको अरु पदाधिकारी पनि सामेल छन् । २०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगतिबारे समेत उनले जानकारी लिएका थिए । आयोजना प्रमुख मित्र बरालले साढे १० किलोमिटर सुरुङ सम्पन्न भएको पूर्वप्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।