किन पटकपटक उत्तर कोरियाको भ्रमण रद्द गर्छन् प्रचण्ड ?

बुधबार, ०६ भदौ २०७५, १२ : ३६
किन पटकपटक उत्तर कोरियाको भ्रमण रद्द गर्छन् प्रचण्ड ?

फाईल फोटो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को एकता भएर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी बनिसकेको थियो ।

तर, माओवादी र एमाले नेता आआफ्नै पहिलेका मुख्यालय गइरहेका थिए ।

२५ असारमा माओवादी मुख्यालय पेरिस डाँडामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा महत्वपूर्ण भेटघाट गरे उत्तर कोरियाली राजदूत किम–यङ हाकसँग ।

हाक प्रायः नेपाली नेताहरुसँग पार्टी कार्यालयमै गएर भेट्दैनन् । तर, त्यो दिन हाक प्रचण्डलाई भेट्न पेरिस डाँडा पुगे । उनको उद्देश्य थियो– ९ सेप्टेम्बरमा उत्तर कोरियामा मनाइने राष्ट्रिय दिवसमा प्रचण्डलाई सहभागि गराउनु ।

हाकले निम्तो दिए । प्रचण्डले स्वीकार गरे ।

लगत्तै पेरिस डाँडामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भने– उहाँ (हाकले) मलाई निमन्त्रणा गर्नुभयो, म यसपटक उत्तर कोरिया जाने छु ।

उत्तर कोरिया जाने ‘कन्फर्मेसन’ गरेको एक महिनामात्र के भएको थियो, प्रचण्डको उत्तर कोरिया जाने कार्यक्रम रद्द भयो ।

यसरी प्रचण्डको उत्तर कोरिया जाने कार्यक्रम रद्द भएको यो पहिलो पटक भने होइन ।

प्रचण्डले यसअघि २०७४ साल माघ ७ गते पनि कोरिया जाने निम्तोलाई पहिले स्वीकार गरेर पछि रद्द गरेका थिए ।

त्यतिबेला पनि नेपालका लागि कोरियाली राजदूत हाक पेरिस डाँडामा नै पुगेर प्रचण्डलाई निम्तो दिएका थिए ।

प्रचण्डको त्यो भ्रमणको उद्देश्य थियो– कोरियन कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस ।

कोरियाली सत्तारुढ पार्टीले प्रचण्डलाई त्यति बेला भ्रमणका लागि औपचारिक पत्र पठाएको पनि थियो । तर, प्रचण्ड त्यो कार्यक्रममा सहभागि भएनन् ।

 

के यो संयोग मात्र हो ?
उत्तर कोरिया बाहेक अन्य देशबाट आएका निमन्त्रणा र भ्रमणलाई प्रचण्डले यसअघि रद्द गरेको इतिहास कमै छ ।

तर, यसपटक उत्तर कोरियाली भ्रमण रद्द गर्नुमा उनको भारत भ्रमणलाई कारक बनाइएको छ । तय भइसकेको भ्रमण रद्द गर्नुलाई संयोग मात्र पनि मान्न सकिँदैन ।

प्रचण्ड भदौ तेस्रो साता भारत भ्रमणमा जाने निश्चित भएको छ । भारतबाट फर्किएलगत्तै उनी चीन भ्रमणमा जानेछन् । त्यसैले उत्तर कोरियाको भ्रमण रद्द गर्नु र चीन भ्रमणअगाडि भारत भ्रमणमा निस्कनुलाई राजनीतिक कनेक्सनका रुपमा लिन सकिन्छ ।

पछिल्लो समय विश्व राजनीतिमा उत्तर कोरियाले आफ्नो उपस्थिति जनाउने प्रयास गरिरहेको छ ।

१२ जुनमा सिङ्गापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम–जङ उनको भेटघाटलाई उत्तर कोरियाको यही प्रयासका रुपमा लिन सकिन्छ । त्यस्तै, उत्तर कोरियाली नेता तथा उच्चपदस्थ अधिकारीहरु बारम्बार अहिले दक्षिण कोरियाली अधिकारीहरुसँग भेटघाट गरिरहेका छन् । त्यति मात्र होइन, किम जङ उनले सत्ता सम्हालेपछि पहिलो पटक चीनको भ्रमण यही बीचमा गरे । तीन सातामा नै किम चीनको भ्रमणका दोस्रो पटक पुगेका थिए ।

विश्व राजनीतिमा फेरिएका यी परिवेशलाई पनि ध्यान गरेर प्रचण्ड उत्तर कोरिया नगएका होलान् त ?

‘त्यस्तो होइन,’ एक राजनीतिक विश्लेषक भन्छन्, ‘हाम्रा नेताहरुमा त्यस्तो गुण र क्षमता नै छैन । प्रचण्डलाई नै किन नहोस्, यहाँका नेताहरुलाई अन्तर्राष्ट्रिय राजनीतिमा के भइरहेको छ भन्ने चासो नै हुँदैन, आफ्नो स्वार्थसँग उनीहरु जोडेर हेर्छन् । यसको अर्थ उनीहरुलाई विश्व परिवेश थाहा हुँदैन भन्ने होइन, त्यसलाई आफू अनुकूल बनाएर सबै घटना र सन्दर्भलाई हेर्ने उनीहरुको बानी छ भनेको हो ।’

 

आखिर किन नजाने त उत्तर कोरिया ?
प्रचण्डका एक सहयोगीका अनुसार प्रचण्ड उत्तर कोरिया जान इच्छुक त थिए तर समयले उनलाई साथ दिएन । उनले भने, ‘जाने भनेकै हो तर यता काम परेपछि चाहेर पनि जान सकिएन, जान पाइएन ।’

उनले प्रचण्डको यसपटकको उत्तर कोरिया भ्रमण रोकिनुको एउटामात्र कारण भारत भ्रमण भएको बताए ।

र, सँगसँगै भने– छिट्टै उत्तर कोरिया भ्रमणमा पनि जानु हुनेछ ।

प्रतिक्रिया दिनुहोस