दश वर्ष भित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने छौ : मन्त्री कार्की

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १४ : २३
दश वर्ष भित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने छौ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई दश वर्ष भित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन।

मन्त्री कार्कीले आगामी निर्वाचनमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रुपमा मात्रै नलिई आफूहरुले १० वर्ष भित्रमा कमसेकम नेपाललाई दक्षिण एसियाको सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अघि बढाउने बताए । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ‘मोबाइल डिभाईस म्यानेजमेन्ट सिष्टम’को शुभारम्भ गर्दै उनले मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने दावी समेत गरे।

केहीले मुलुकको अर्थतन्त्र श्रीलंकाको हालतमा अघि बढेको भन्दै भ्रम सृजना गरिरहेको तर त्यस्तो हुनै नसक्ने मन्त्री कार्कीको भनाई थियो । उनले अर्थतन्त्रलाई चलायमान बनाई समुन्नत नेपाल निर्माण गर्नका लागि मुलुकका सामू धेरै सम्भावनाहरु रहेको पनि उल्लेख पारे।

मन्त्री कार्कीले निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको पटकपटक दोहोर्‍याए । त्यस अवसरमा उनले ‘मोबाइल डिभाईस म्यानेजमेन्ट सिष्टम’ मुलुकको समृद्धिमा योगदान पु¥र्‍याउने उद्देश्यका साथ संचालनमा ल्याइएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस