ब्लुबुक नवीकरण गर्दा ३ हजार घुस लिने इन्जिनियर पक्राउ

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १५ : २५
ब्लुबुक नवीकरण गर्दा ३ हजार घुस लिने इन्जिनियर पक्राउ

काठमाडौं । सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयमा ब्लुबुक नवीकरण गरेबापत घुस लिएका मेकानिकल इन्जिनियर दीपक बम घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले उनलाई तीन हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीसँग ब्लुबुक नवीकरण, जाँचपास नवीकरण र रूट पर्मिट नवीकरण गरिदिनका लागि घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको सुर्खेत कार्यालयबाट खटिई गएको टोलीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

घुस रकमरहित विचौलिया नीरकबहादुर शाहीलाई समेत पक्राउ गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस