काठमाडौं । काठमाडौं महानगरपालिकाले वनस्थली चोकबाट ढुंगेधारातर्फ जानेतर्फ रहेको अनधिकृत घर टहरा हटाएको छ । शनिवार बिहान उक्त क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका घर टहरा हटाएको हो ।
उक्त क्षेत्रको सार्वजनिक जग्गामा स्वीकृति नलिई घर टहरा निर्माण गरिएका थिए । सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण गरिएका संरचना हटाउन थालिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनका अनुसार वनस्थलीबाट ढुंगेधारा जाने बाटोमा रहेको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाभित्र निर्माण गरिएका अवैध संरचना हटाउने अभियान शनिवार पनि जारी राखिएको उनले बताए । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा निर्माण गरिएका र स्वीकृति लिएको प्रयोजनविपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको छ । उक्त संरचना हटाउन मेयर बालेन्द्र साह (बालेन) आफै फिल्डमा खटिएका छन् । महानगरपालिकाले सुनधारास्थित काठमाडौं मल, न्यूरोड आरबी कम्प्लेक्स, बानेश्वरको अल्फाबिटा कम्प्लेक्सलगायतका संरचना हटाएको छ । महानगरपालिकाले ३२ वटै वडामा निर्माण गरिएका अवैध संरचना हटाउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, १४ : ४१
लेखकबाट थप