बझाङ । भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो ।
सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर लैैजाँदै गर्दा बाटोमै मृत्यु भयो । कोभिड– १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन् ।
त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि जनशक्ति नहुँदा सञ्चालन ल्याउन नसकिएको र उपचारमा समस्या हुने गरेको जोशीले बताए ।
नयाँ वर्षका लागि घर आउनुभएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण देखियो । आइतबार जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिका र जयपृथ्वी नगरपालिकाका दुई जनामा लक्षण देखिएपछि परीक्षण गर्दा दुवैमा कोरोना पोजेटिभ देखियो ।
जिल्ला अस्पतालमै कार्यरत एक महिला स्वास्थ्यकर्मीमा पनि लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भयो । ती स्वास्थ्यकर्मीमा यसअघि पनि कोरोना पोजेटिभ देखिएको थियो । कोभिडविरुद्धको पहिलो मात्रा भ्याक्सिन लगाउनुभएकी उहाँलाई पहिलाभन्दा कडा खालका लक्षण देखिएको छ । सबै जना अहिले जिल्ला अस्पतालमा छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० बैशाख २०७८, १५ : ४९
लेखकबाट थप