बैंकमा पौने दुई खर्ब रुपैयाँ थुप्रिएपछि घटाउन सुरु भयो ऋणको ब्याजदर

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०७७, ११ : २३
बैंकमा पौने दुई खर्ब रुपैयाँ थुप्रिएपछि घटाउन सुरु भयो ऋणको ब्याजदर

सांकेतिक तस्विर

काठमाडौँ । नेपालका बैंकहरुमा लगानीयोग्य रकम (तरलता) बढेपछि ऋणको ब्याजदर घटाउन सुरु गरिएको छ । ऋणको ब्याजदर घटाउन बैंकहरुमा प्रतिस्पर्धा नै देखा परेको छ ।

बैकिङ क्षेत्रमा अहिले पौने २ खर्ब तरलता ९लगानीयोग्य रकम० छ । बैङ्कहरुमा लगानी गर्ने रकम प्रशस्त भएपछि कहाँ लगानी गर्ने भन्ने अन्यौलमा बैङ्कहरु छन् । तरलता बढेसँगै लगानी विस्तारका लागि बैङ्कहरुले आफूले दिने कर्जाको ब्याजदर धमाधम घटाइरहेका छन् ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणकर भट्टका अनुसार अहिले बैंकिङ प्रणालीमा १ खर्ब ८५ अर्ब रुपैयाँ तरलता छ । हिजोमात्र नेपाल राष्ट्र बैङ्कले २० अर्ब तरलता बजारबाट प्रशोचन गरेको भट्टले जनाए । यसअघि पनि राष्ट्र बैङ्कले साउन ८ गते २० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । बैङ्कहरुलाई लगानी गर्न बाध्यात्मक अवस्था सिर्जना गर्नका लागि तरलता नतान्ने भनेको केन्द्रीय बैङ्कले अन्ततः २ पटक गरेर ४० अर्ब तरलता तानिसकेको छ ।

अहिले धमाधम कर्जाको ब्याजदर घटिरहेको छ । लगानी आकर्षित गर्न ब्याजदर घटाएर बैङ्कहरुले सूचना प्रकाशित गरिरहेका छन् । अर्थतन्त्र सामान्य अवस्थामा आउँदा अत्यधिक कर्जा माग हुने हुँदा अहिलेको तरलता काम लाग्ने बैकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् ।

कर्जाको माग न्यून

तरलता अधिक भएपछि बैङ्क तथा वित्तीय क्षेत्रमा कर्जा तथा निक्षेपको ब्याजदर घटिरहेको छ ।  साउन लागेसँगै निक्षेप र ऋण दुवै घटेको छ ।

राष्ट्र बैङ्कका अनुसार, निक्षेप २५ अर्बले घटेको छ भने ऋण ३६ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा बैङ्कहरुसँग ३४ खर्ब ६२ अर्बरुपैयाँ निक्षेप थियो । ऋण २९ खर्ब ३ अर्ब रुपैयाँ थियो ।

बैङ्कहरुले निक्षेपको ब्याजदरमा भएको भएका भद्र सहमति समेत खारेज गरिसकेका छन् । कोभिड १९ का कारण अहिले बैकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएको छ ।  बैङ्कको ऋण घट्दा र निक्षेप बढ्दा बैङ्कहरुको कोषको लागत बढिरहेको छ ।

नयाँ ऋणको माग नहुँदा बढी भएको तरलता व्यवस्थापन गर्न बैङ्कले सकिरहेका छैनन् । अहिले बैकमा नयाँ ऋण माग नहुँदा  एउटा बैङ्कमा भएको ऋण अर्को बैङ्कले खोस्न थालेको बैकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् । भट्टराई जतिसुकै ब्याजदर घटाए पनि नयाँ कर्जा प्रवाह हुने सम्भावना न्यून रहेको बताउँछन् ।