काठमाडौँ । विश्वव्यापी त्रास बनेको कोरोना भाइरस (कोभिड–१९) बाट नेपाल उच्च जोखिममा छ भन्ने एउटा घटना सार्वजनिक भएको छ ।
फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् ।
अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए । अधिकारीका अनुसार उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए ।
उनको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र उनलाई अलग (सेल्फ आइसोलेसन) मा राख्न आग्रह गरिएको भए पनि त्यसलाई उनले पालना नगरेको बताइन्छ । उनलाई कोरोनाको संक्रमण भएको शनिबार पुष्टि भएको र लगत्तै उनलाई आइसोलेसनमा राखिएको जानकारीमा उल्लेख छ ।
तास्मानियाका जनस्वास्थ्य सेवाका प्रमुख डा। मार्क भेइचले सेल्फ आइसोलेसनमा राख्न गरिएको सल्लाह बेवास्ता गर्नुलाई ‘अस्विकार्य’ बताएका छन् । ‘मैले यस्तो स्थितीमा तास्मानियाका सबै जनतालाई जिम्मेवार रहन आग्रह गर्दै आएको छु,’ उनले भने ।
अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी उनी नेपालबाट फर्किएपछि दुई पटक कलेज गएको बताइन्छ । उनले पछिल्ला केही हप्तामा ग्रान्ड चान्सलर होटलमा पनि विभिन्न सिफ्टमा काम गरेका थिए ।
स्वास्थ्य अधिकारीले उनीसँगको नजिकको सम्पर्कमा आएका सह–कर्मीको पहिचान गर्ने प्रयासमा भएको बताएका छन् । यसका साथै उनीसँगै बस्ने चारजना र अन्य तीनजनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण लिने प्रयास भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ फागुन २०७६, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै