काठमाडौँ । विभिन्न मुलुकमा देखिएको नोभेल कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाललगायत विभिन्न देशले उच्च सतर्कता अपनाएको छ । नेपालमा पनि हेल्प डेस्क स्थापना गरेर सावधानी अपनाइएको छ । चिकित्सकले व्यक्ति आफैँले सावधानी अपनाउँदा कोरोनाको संक्रमणबाट बच्न सकिने बताएका छन् ।
स्वास्थ्य सेवा विभागका डा. हेमन्त ओझाले विशेष गरी सरसफाइमा ध्यान दिने, माक्स लगाउने, भिडभाडमा नजाने, बिरामीलाई छोएमा हात राम्ररी सफा गर्नेलगायत सावधानी अपनाए यसबाट जोगिन सक्ने बताउनुभयो । अध्यागमन विभागका कर्मचारीलाई कोरोना भाइरसको विषयमा आज जानकारी दिँदै डा. ओझाले नेपालको सीमा चीनसँग जोडिएकाले केही संक्रमण बढ्ने हो की भन्ने आशंका भए पनि अहिलेसम्मको अवस्थामा नेपाल सुरक्षित रहेको बताउनुभयो ।
पर्यटकसँग हेलमेल हुने भएकाले अध्यागमनका कर्मचारीले भने विशेष सावधानी अपनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अन्तरक्रियाका क्रममा विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रतिनिधि डा रुबेलले रोगको औषधि पत्ता नलागेकाले लक्षण अनुसारको उपचार गरिने जानकारी दिँदै व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।
चीनको बुहान प्रान्तमा देखिएको उक्त भाइरस सोही क्षेत्रबाट आएका एक नेपालीमा पनि देखिएपछि संक्रमण बढ्न सक्ने आशंकामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर संक्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालको अवस्था सामान्य रहेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । सावधानी अपनाएर काममा लाग्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । नोभेल कोरोना भाइरस विश्वका २२ बढी मुलुकमा देखिइसकेको छ । यसले रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् ।
शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्व स्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ । नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा संक्रमण हुनु हो ।
रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, संक्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । (रासस)
प्रतिक्रिया दिनुहोस