पुलिस क्लव विजयी

आइतबार, २८ माघ २०७४, १५ : ३७
पुलिस क्लव विजयी

चितवन । चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ अन्तर्गत आजको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

नेपाल पुलिसले भारतको हरियाणा पुलिस क्लब भारतलाई २०–२५ , २५–२१, २५–२३ र २५–२१ को सेटमा पराजित गरेको हो । पहिलो सेट गुमाएको नेपाल पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित हात पारेको हो ।

भरतपुर–२२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगिता आगामी फागुन १ गते महाशिवरात्रिको दिनसम्म सञ्चालन गरिने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए ।

प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने छ ।

प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । त्यसमा बस्नका लागि ५०, १०० र २०० का टिकट व्यवस्था गरिएका छन् । प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस