हात्ती पोलोमा खैरहनी नगरपालिका विजयी

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, १६ : ३९
हात्ती पोलोमा खैरहनी नगरपालिका विजयी

चितवन । चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्र्तगत सोमवारदेखी हात्ती पोलोका खेल सुरु भएको छ । महोत्सवस्थल बाघमारा चौरमा भएको खेलमा पूर्वी चितवनको खैरहनी नगरपालिका विजयी भएको छ ।

पूर्वी चितवनकै कालिका नगरपालिकालाई पराजीत गर्दै खैरहनी विजयी भएको हो । खैरहनीले कालिकालाई ५–३ गोल अन्तरले पराजीत गरेको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले जानकारी दिए । पहिलो हाफमा ३–२ ले पछि पारेको खैरहनीले दोश्रो हाफमा २ गोल थप्दा कालिकाले एक गोल गर्यो । 

खैरहनीका लागि विनोद चौधरीले ह्याट्रिक गरे भने रन्जन भण्डारीले २ गोल गरे । कालिकाका लागि चन्द्र लामाले ह्याट्रिक गरेका थिए । मंगलवार रत्ननगर नगरपालिका र राप्ती नगरपालिकाबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पाण्डेले बताए । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा पुष १० गते सुरु भएको महोत्सव १८ गते सम्म चल्नेछ । 

महोत्सवमा हात्तीका छावाहरुको फुटवल, हात्ती पोलो, हात्ती सुन्दरी, हात्ती पेन्टिङ, हात्ती पिकनिक, महिला बीच भलिवल, डुंगा दौड, गाढा श्रृंगार लगायतका खेलहरु समावेश गरिएको छ ।

प्रदेश सरकारले अपनत्व ग्रहण गर्दै यस वर्षको हात्ती महोत्सवको समयावधि ४ दिन थप गरेर केही नयाँ गतिविधीहरु थप गरेको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईका अनुसार यही पुष १८ गते प्रदेश सरकारले सौराहाबाट भ्रमण वर्षको सुरुवात समेत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस