पीपीएल क्रिकेट :  चितवन राइनोजको लगातार तेस्रो जित

शुक्रबार, ०४ पुस २०७६, १६ : ५५
पीपीएल क्रिकेट :  चितवन राइनोजको लगातार तेस्रो जित

पोखरा । पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पारस खड्का कप्तान रहेको चितवन राइनोजले लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार एक्स्पर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवन प्ले अफ नजिक पुगेको हो । चितवनले प्रस्तुत गरेको १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन मात्र बनायो ।

पहिलो ओभरको पहिलो बलमै रोड्रिगो थोमससँग रनमा तालमेल गर्न नसक्दा शुबेन्दु पाण्डे शून्यमा रन आउटको शिकार बन्न पुगेका थिए । उनलाई सन्नी पटेलले रन आउट गरेका थिए ।

लगत्तै दोस्रो बलमा करण केसीले श्रीमन्था विजयरत्नेलाई शून्यमा एलबी डब्लू आउट गर्दै दबाबमा राखे । तेस्रो विकेटका लागि रोड्रिगो थोमस र दीपेन्द्र सिंह ऐरीले ५५ रनको साझेदारी गर्दै सुरुवाती दबाब केही कम गरेका थिए । आठौं ओभरको तेस्रो बलमा सन्नी पटेलले थोमसलाई २४ रनमा बोल्ड आउट गरे । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा सन्दीप रजालीलाई शून्यमा क्लिन बोल्ड आउट गरे ।

एकतर्फबाट धनगढीको इनिङ उकासि रहेका कप्तान दीपेन्द्र सिंह ऐरी ठूलो सट खेल्नेक्रममा डिप स्वायर लेगमा बाबर हायतबाट क्याच आउट हुनपुगेपछि अर्ध शतक पुरा गर्न एक रनले चुकेका थिए । दीपेन्द्रले ४२ बलमा ४ चौका र २ छक्का सहित ४९ रनमा पेभिलिएन फर्के । एक रनले अर्ध शतक बनाउन चुकेका दीपेन्द्र क्याच आउट भएपछि ब्याट मैदानमा फालेका थिए ।

१६ औं ओभरको दोस्रो बलमा भुवन कार्कीले कट एण्ड बोल्ड गर्दै सन्दीप जोरालाई २१ रनमा पेभिलिएन फर्काए । जोराले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । भुवनले सौरव खनाललाई ७ रनमा बोल्ड आउट गरे । अमित यादव १७ रनमा अविजित रहे । स्पिनर भुवन कार्की ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सन्नी पटेलले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि शुक्रबार दिउँसो पोखरा रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । चितवनको लागि आरिफ शेख २० बलमा २ चौका र ४ छक्का सहित ४७ रनमा अविजित रहे । सन्नी पटेल १७ बलमा १ चौका र ३ छक्का सहित ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि आरिफ र सन्नीले ५ ओभरमा ७२ रनको आक्रामक साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याएका थिए ।

आरिफले ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । १८ औं ओभरको पहिलो बलमा कमल सिंह ऐरीले आरिफलाई क्याच आउट गराएपनि थर्ड एम्पारले नो बल दिएपछि जीवनदान पाएका थिए ।

दीपेन्द्रले पाँचौ ओभरको तेस्रो बलमा ओपनर रोहन मुस्तफालाई ९ रनमा एलबी डब्लू आउट गरे । सातौं ओभरको चौथो बलमा युवा स्पिनर अनिल खरेलले कप्तान पारस खड्कालाई दीपेन्द्रबाट २३ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि पारसले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । नवौं ओभरको पाँचौ बलमा हरि शंकर शाहलाई अनिललेनै अमित यादवबाट ८ रनमा क्याच आउट गराए ।

१३ औं ओभरको चौथो बलमा अमित यादवले दीपेन्द्रबाट बाबर हायतलाई ३६ रनमा क्याच आउट गराए । क्याच आउट गराउनु अघि बाबरले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १५ औं ओभरको अन्तिम बलमा अनिल कुमार शाहलाई दीपेन्द्रले अमितबाट १९ रनमा क्याच आउट गराए । युवा स्पिनर अनिल खरेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अमित यादवको नाममा १ विकेट रह्यो ।

पहिलो खेलमा विराटनगरमाथि ५ रनको रोमान्चक जित हात पारेको धनगढी दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले पराजित भएको थियो । धनगढीले चौथो खेलमा बुटवल ब्लास्टर्ससँग शनिवार खेल्ने छ ।

पहिलो खेलमा चितवनले पोखरालाई ६ विकेटले हराउँदा दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको थियो । चौथो खेलमा चितवनले शनिवार विराटनगर टाइटन्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस