तेह्रौँ साग : नेपाललाई पहिलो स्वर्ण पदक

रासस

सोमबार, १६ मंसिर २०७६, १३ : ०३
तेह्रौँ साग : नेपाललाई पहिलो स्वर्ण पदक

काठमाडौँ । नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाउनुभएको छ ।

सातदोबाटोस्थित कराँते हलमा आज भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो । उहाँले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । श्रेष्ठले २५.७२ अङ्क जोड्नुभयो । यता रजत पदक हात पार्नुभएका पाकिस्तानका खेलाडीले २४.९२ अङ्क जोड्नुभयो । 
    
त्यसअघि सेमिफाइनलमा मण्डेकाजीले बङ्गलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाउनुभएको थियो । यससँगै मण्डेकाजीले दुई दशकपछि नेपाललाई कातामा स्वर्ण दिलाउन सफल हुनुभएको छ । नेपालमै भएको आठौँ सागमा गङ्गाराम महर्जनले कातामा नेपाललाई स्वर्ण दिलाउनुभएको थियो । त्यसयता कातामा नेपाल स्वर्णविहीन हँुदै आएको थियो ।
    
चञ्चलाले रजत 
त्यस्तै महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जित्नुभएको छ । उहाँ  फाइनल खेलमा पाकिस्तानकी साहिदासँग पराजित हुनुभयो । चञ्चलाले फाइनलमा २४.६२ अङ्क जोड्दा साहिदाले २४.६२ अङ्क जोड्नुभयो ।
    
यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बङ्गलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस