एजेन्सी । नेपालका लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेट लिगमा पराजित भएको छ । बिहिबार राति भएको पहिलो खेलमा टोरन्टो भ्यान्कोभर नाईट्ससँग आठ विकेटले पराजित भयो ।
सन्दीप अहिले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता खेलिरहेकोले ग्लोबल टी–२० मा छैनन् । सन्दीपले यसको दुई खेल गुमाउनेछन् । ग्लोबल टी–२० मा नेपालका सोमपाल कामी समेत परेका छन् । टोरन्टोले सन्दीपलाई ६० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो । सोमपाललाई विन्निपेग हक्सले अनुबन्ध गरेको छ ।
एक सय ६० रनको विजयी लक्ष्य पछ्याएको भ्यान्कोभरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा एक सय ६२ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । भ्यान्कोभरको जितमा चाडविक वाल्टन र रस्सी भान डेर डुसनले अविजित अर्धसतकिय पारी खेले । डुसनले ६५ र वाल्टनले ५९ रन बनाए । टोयिबास भिसले २० रन बनाए । ओपनर क्रिस गेल १२ रनमा आउट भए । टोरन्टोका जोवा गोर्डन र मार्क कोन्टफर्कले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । टोरन्टोका लागि रोड्रिगो थोमस र हेनरिक क्लासेनले समान ४१ रन बनाए । किरोन पोलार्डले अविजित ३० रन बनाए । भान्कोभरका रिजवान चीमा, साद बीन जफर, मिचेल रिप्पोन, एन्डिल फेलुकवायो र अलि खानले एक एक विकेट लिए । जितसँगै भ्यान्कोभरले दुई अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १० साउन २०७६, १२ : ५५
लेखकबाट थप