नेपालमा विदेशी टेलिभिजन च्यानलहरु बन्द !

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०७६, १९ : २८
नेपालमा विदेशी टेलिभिजन च्यानलहरु बन्द !

काठमाडौं । विदेशी विज्ञापन प्रशारण हुँदै आएको विदेशी च्यानलहरू बन्द भएका छन् । पत्रकार सम्मेलन गरी इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबै जसो विदेशी च्यानलहरु बन्द गराएका हुन् । २४ घण्टाका लागि सबै च्यानलहरु बन्द हुने भएका हुन ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि बन्द गरिएको छ । 

सरकारले विज्ञापन नियमन गर्ने विधेयकमा विदेशी टेलिभिजन च्यानल 'क्लिन फिड'का रुपमा प्राप्त हुनुपर्ने र विज्ञापन बजाउन नपाइने प्रस्ताव गरेपछि व्यवसायीहरुले आन्दोलन गरी प्रशारण बन्द गर्नु परेको बताएका छन् । 

सरकारले राष्ट्रियसभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टिभी व्यवसायीहरु आन्दोलित भएका हुन् ।  यसअघि नै केवल टिभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका थिए ।



हाल नेपालमा प्रसारित च्यानलहरुमध्ये करिब ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने भन्दै महासंघले प्रस्तावित विधेको चर्को विरोध जनाएको छ ।

उक्त विधेक हुबहु पारित भए नेपालमा सर्वाधिक रुचाइएका च्यानलहरु कलर्स, स्टार प्लस, जी टीभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरु सहित खेलकुदका च्यानलहरु स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरु समेत बन्द हुने छ । यसले खेल तथा मनोरञ्जन प्रेमी नेपालीहरुमाथि अन्याय हुने टेलिभिजन च्यानल प्रदायक कम्पनीहको भनाई छ । यसले सूचनाको हक समेत कुन्ठित हुने व्यवसायीहरुको आरोप रहेको छ । 

प्रतिक्रिया दिनुहोस