चितवन च्याम्पियनसिपः अभिशेक चर्च फाईनल प्रवेश

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, २० : ५२
चितवन च्याम्पियनसिपः अभिशेक चर्च फाईनल प्रवेश

चितवन  । भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनसिप अन्तर्गत आज (बिहीबार)को खेलमा विजयी बन्दै नवलपुरको अभिशेक चर्च रजहर फाईनलमा प्रवेश गरेको छ । 
जु फुटबल क्लब जुगेडीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै अभिशेक चर्च फाईनल प्रवेश गरेको हो । अभिशेक चर्चको तर्फबाट प्रतियोगिताको ४६ र ६७ औँ मिनेटमा विदेशी खेलाडी योनिकले दुई गोल गरेका थिए । ४५औँ मिनेटमा जु फुटबल क्लबका विदेशी खेलाडी ओलाओलेले एक गोल गरेको भएपनि जु फुटबल क्लब फाईनल प्रवेश गर्न सकेन । आजको प्रतियोगिताको अभिशेक चर्चको खेलाडी म्यान अफ दी म्याच योनिक घोषित भएका छन् । 
सेमीफाईनलबाट बाहिरिने दुई टिमबीच भोलि शुक्रबार पुनः प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकाटोले बताए । देशभक्त फुटबल क्लब नवलपरासी र जु फुटबल क्लबबीच हुने प्रतियोगितामा विजयी हुने टिम पाँचौँ चितवन च्याम्पियनसिपको तेस्रो टिम हुनेछ । तेस्रो हुने टिमले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउने एभरेष्ट क्लबका सचिव विकास अधिकारीले जानकारी दिए । 
प्रतियोगिता अन्तरगत असार ७ गते जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र अभिशेक चर्च रजहरबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उपविजेता समूहले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउने अधिकारीले बताए । 
सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने पनेरुले बताए ।
असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ । प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।
प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर खेल हेर्ने दर्शकहरुमध्येबाट हरेक दिन एक जनालाई लक्की ड्र मार्फत मोबाइल पुरस्कार प्रदान गरिदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस