कोपा अमेरिका : मेसीको गोलमा अर्जेन्टिनाले पाराग्वेलाई रोक्यो बराबरीमा

एजेन्सी

विहीबार, ०५ असार २०७६, १० : ०८
कोपा अमेरिका : मेसीको गोलमा अर्जेन्टिनाले पाराग्वेलाई रोक्यो बराबरीमा

एजेन्सी । कोपा अमेरिका २०१९ को समूह ‘बी’ अन्तर्गत अर्जेन्टिना र पाराग्वेको खेल १–१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा १–० ले पछाडी परेको अर्जेन्टिनाले दोस्रो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) सहायतामा प्राप्त पेनाल्टीमा गोल फर्काएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ३७औं मिनेटमा खाता खोलेको थियो । पाराग्वेका लागि रिचार्ड स्यान्चेजले सुरुवाती अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाले ५७ मिनेटमा पेनाल्टी बराबरी गोल फर्काएको थियो । कप्तान लियोनल मेस्सीले पेनाल्टीको सदुपयोग गरे । त्यसअघि मेस्सीको प्रहार बारमा लागेर फर्किएको बललाई डिबम्सभित्र पाराग्वेका रक्षकले ह्यान्ड गरेपछि  (भीएआर) को सहायतामा अर्जेन्टिनालाई पेनाल्टीको मौका दिईएको थियो ।
पाराग्वेले ६२औं मिनेटमा पेनाल्टीको अवसर खेर फालेको थियो । पाराग्वेका डेर्लिस गोन्जालेजको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानीले विफल पारिदिएका थिए ।गोन्जालेजलाई डिबक्स भित्र अर्जेन्टिनाका निकोलस ओटामेन्डीले फल हानेपछि रेफ्रीले पाराग्वेलाई पेनाल्टी दिएका थिए । पहिलो हाफमा लगातार गोलको मौका बनाएको अर्जेन्टिनालाई हारबाट जोगिन दोस्रो हाफमा भिएआरको सहयतामा पाएको पेनाल्टीनै राहत बन्यो । यस बराबरीसँगै अर्जेन्टिना एक अंक सहित तालिकाको अन्तिममा छ । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलले पराजित भएको थियो ।

यसैगरी बिहिबार बिहानै भएको समूहको अर्को खेलमा कोलम्बियाले एयसयाली टोली कतारलाई १–० गोलले हराएको छ । कोलम्बियाको जितमा डुभान जापाटाले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै कोलम्बिया एक खेल अगाडीनै क्वार्टरफाइनलमा पुगेको छ । लगातार दुई जित हात पारेको कोलम्बिया ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दुई अंक बनाएको पाराग्वे दोस्रो स्थानमा छ । एक अंक बनाएको कतार गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस