काठमाडौं । मैले नर्सरीदेखि कक्षा आठसम्म भ्याली भ्यू बोर्डिङ स्कुलमा पढेँ। एकदमै चकचके स्वभावको थिएँ। आफू गल्ती गर्थें, साथीहरूलाई दोष लगाइदिन्थेँ। कक्षा नौ र दश भीएस निकेतनमा पढेँ। दुवै स्कुलमा कडा अनुशासन थियो। क्लास बंक गरेर घुम्न जानु त कल्पनाबाहिरको कुरा हुन्थ्यो। कक्षा १० मा पुगेपछि झन् बदमास भएँ। सरले पढाइरहँदा कक्षामा चकचक गर्थें। बिहान क्लास सुरु हुँदा लास्ट बेन्चमा बस्थेँ। छुट्टी हुने बेलासम्म फस्ट बेन्चमा पुगिसकेको हुन्थेँ। सरहरूले धेरै हल्ला गर्यो भनेर अगाडि बेन्चमा राखिदिनुहुन्थ्यो।
बेन्चमा शंकर आचार्य, अनिल बाडेसँग बस्थेँ। उनीहरू मेरा मिल्ने साथी थिए। केटी साथीसँग पनि खूब मिल्थेँ। हावा गफ गरेर सबैलाई हँसाइरहन्थेँ। कक्षामा जति हल्ला गरे पनि पढ्नमा राम्रो थिएँ। घर आएर पढ्थेँ। सामाजिक अध्ययन विषय मन पथ्र्यो। सामाजिक पढाउने सर सन्तोष चापागार्इं एकदमै मन पर्थे। अंग्रेजी पढाउने लीलादत्त पन्त सरलाई पनि मन पराउँथेँ। उहाँको विषय पढ्दा हल्ला गर्दिनथिएँ।
छुट्टी भएपछि साथीहरूसँग रमाइलो गरिन्थ्यो। हामी घुम्न जान्थ्यौँ। आफू बदमासी गरेर साथीहरूलाई फसाइदिन्थेँ। पछि सरले थाहा पाएपछि मलाई पिट्नुहुन्थ्यो। क्लासमा केटाहरू मिलेर केटीहरूको खाजा चोरेर खान्थ्यौँ। केटाहरू घरबाट टिफिन ल्याउँदैनथे। क्यान्टिनमा खान्थे। केटीहरू घरबाट मीठो–मीठो खाजा लिएर आउँथे। उनीहरू कक्षाबाहिर गएको बेला हामी ब्यागबाट टिफिन निकालेर खान्थ्यौँ र खाली बट्टा ब्यागमा छोडिदिन्थ्यौँ। कोही–कोही थाहा पाएपछि चुप लागेर बस्थे, तर कोही भने प्रिन्सिपल सरसँग गुनासो गर्थे। सरले पनि नमज्जाले पिट्नुहुन्थ्यो।
पढ्नबाहेक टेबल टेनिस र बास्केट बल खेल्न मन पथ्र्यो। स्कुलमा हुने प्रतियोगितामा धेरै पटक जितेर पुरस्कार पाएँ। कक्षा १० पढ्दाताका साथीहरूले जिस्काउँदा–जिस्काउँदै लभ परेको थियो मेरो। कक्षामा प्रायः सबै साथीको लभ परेको थियो। गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड भएका जोडी बेन्चमा सँगै बस्थे। पछि प्रिन्सिपल सरले थाहा पाउनुभयो।
सबैको घरमा खबर पुग्यो। सबैको आमाबुबा स्कुलमा आउनुभयो। मेरो घरबाट बुबा आउनुभएको थियो। सरले अफिसमा लग्नुभयो। पढ्ने समयमा बिग्रिँदै गएको भनेर गाली गर्नुभयो। मैले सरलाई ‘सर मैले त लभ गरेकै छैन, उसले आफैँ गरेकी हो’ भनेको थिएँ। मेरो कुरा सुनेर सरले एक थप्पड लगाउनुभयो। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस