खेलकुद क्षेत्रलाई पर्याप्त बजेट छुट्याउन सकिएन : मन्त्री विश्वकर्मा

सफल खबर संवाददाता

शनिबार, २५ जेठ २०७६, १३ : ४९
खेलकुद क्षेत्रलाई पर्याप्त बजेट छुट्याउन सकिएन : मन्त्री विश्वकर्मा

चितवन । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले बजेटमा खेलकुद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताउनु भएको छ । शनिबार भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले मन्त्रालयले रु १५ अर्ब बजेट माग गरेको भए पनि रु ३ अर्ब ९९ करोड पाएको बताउनु भयो । 
स्रोत साधनको सिमाका कारण खेलकुद क्षेत्रमा जति बजेट विनियोजन हुनु पर्ने थियो त्यो हुन नसकेको भन्दै उहाँले खेलकुद क्षेत्रले अपेक्षा गरे अनुसारको बजेट विनियोजन नभएको बताउनु भयो । खेलकुद क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुलाई बजेट कार्यक्रमका हिसाबले र नीतिगत हिसाबले मार्गदर्शन गरेको उहाँको भनाई थियो । 
खेल क्षेत्रको विकास, बिस्तार र समृद्धिका लागि हाम्रा अगाडि जे कार्यभारहरु छन् ती कार्यभारहरु पूरा गर्ने भएको स्रोत साधनलाई मितव्ययी हिसाबले प्रयोग गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारले बजेट कम दिए पनि खेल क्षेत्रलाई प्रथामिकतामा नपारेको भन्ने कुरा नभएको उहाँले बताउनु भयो ।
सरकार सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्प साथ अघि बढेको उहाँको भनाई थियो । राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सरकार योजनावद्ध ढङ्गले अघि बढेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “खेल क्षेत्रले समृद्धि प्राप्त नगरेसम्म समृद्ध नेपाल बन्न सक्दैन । यसका लागि सरकार सातै प्रदेशमा सुविधासम्पन्न रंगशाला निर्माणको काममा लागेको छ ।” 
खेलकुद क्षेत्रमा देखिएको विवाद अन्त्य गर्दै अघि बढ्नका लागि सरकार लागिपरेको उहाँले बताउनु भयो । सबै पक्ष एकतावद्ध भएर अघि बढ्न नसकेको खण्डमा खेल क्षेत्रको विकास सम्भव नभएको भन्दै उहाँले आफूले जिम्मेवारी सम्हालेपछि सबै पक्षलाई एकतावद्ध हुन आव्हान गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “खेल क्षेत्रमा देखिएका विवाद अन्त्य गर्दै अघि बढेका छौं । बाँकी विवाद देखिएका ठाउँमा पनि समाधानको बाटो खोजिएको छ ।”
खेल क्षेत्रलाई मर्यादित बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । खेल क्षेत्र मर्यादित बन्न नसके अग्रजको योगदानको कदर र देशको प्रतिष्ठा माथि उठ्न नसक्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस