चितवन च्याम्पियनसिप:  गैँडाकोटको फोर ब्रदर्श फुटबल क्लब विजयी

शुक्रबार, २४ जेठ २०७६, १९ : ४२
चितवन च्याम्पियनसिप:  गैँडाकोटको फोर ब्रदर्श फुटबल क्लब विजयी

चितवन । एभरेष्ट क्लब भरतपुर ११ द्वारा आयोजित हनामी पाँचौँ चितवन च्याम्पियनसिप सुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा साविका विजेता गैँडाकोटको फोर ब्रदर्श फुटबल क्लब विजयी भएको छ । गैँडाकोटले ३–२ गोल अन्तरले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई पराजित गरेको एभरेष्ट क्लबका सचिव विकास कोइरालाले बताए । प्रतियोगितामा गैँडाकोटको फोर ब्रदर्शका तर्फबाट राजिव लोप्चनले एक तथा सजिन थापाले दुई गोल गरेका थिए । 

त्यस्तै, सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबका तर्फबाट सुनील श्रेष्ठ र निरज बस्नेतले एक एक गोल गरेका थिए । निकै रोमञ्चकारी खेलमा गैँडाकोटको फोर ब्रदर्शका अमीर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत भोलि शनिबार नारायणगढ फुटबल क्लब र राप्ती रिभर्स फुटबल क्लबबीच प्रतियोगिता हुनेछ । 

‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ । 

सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ ।

असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।

प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस