गर्मी याममा बढी माग हुने पहिरनमध्ये एक हो, हट प्यान्ट। फेसनेबल र स्टाइलिस देखिन युवतीहरू हट प्यान्ट लगाउने गर्छन्। गर्मी मौसमका लागि हट प्यान्ट उपयुक्त लुगा रहेको काठमाडौँ, बौद्ध बस्ने २३ वर्षीया जुना लामा बताउँछिन्। ‘मैले हट प्यान्ट लगाउन थालेको धेरै वर्ष भइसक्यो,’ उनी भन्छिन्, ‘यो गर्मीका लागि एकदमै उपयुक्त पहिरन हो। हट प्यान्ट लगाँउदा आफू पनि हट देखिएको महसुस हुन्छ।’
सााथीहरूले लगाएको देखेर आफूलाई पनि छोटो प्यान्ट लगाउन रहर लागेको जुना बताउँछिन्। ‘पहिला त छोटो प्यान्ट लगाएको भन्दै घरमा गाली गर्नुभयो,’ उनी भन्छिन्, ‘अहिल त बानी परिसक्यो। घरमा पनि सामान्य रूपमा नै लिनुहुन्छ।’ आफूसँग हट प्यान्टको राम्रो ‘कलेक्सन’ रहेको सुनाउँछिन्, जुना। ‘मलाई फोल्डिङ हट प्यान्ट लगाउन मन पर्छ,’ उनी भन्छिन्, ‘अफिस जाँदा र औपचारिक कार्यक्रमबाहेक गर्मीमा धेरैजसो हट प्यान्ट नै लगाउँछु।’
काठमाडौँ, रातोपुलकी १८ वर्षीया सविना काफ्ले चलेको फेसन ट्रेन्डअनुसार चल्नुपर्ने बताउँछिन्। ‘अहिले धेरै केटीले हट प्यान्ट लगाउँछन्,’ उनी भन्छिन्, ‘चलेको फेसनअनुसार त हिँड्नैपर्यो।’ कोरियन फिल्मका हिरोइनलाई देखेर आफूलाई हट प्यान्ट लगाउने रहर लागेको उनी बताउँछिन्। ‘कोरियन फिल्मका हिरोइनले लगाएको देख्दा राम्रो लाग्थ्यो,’ उनी भन्छिन्, ‘त्यस्तै लुगा नेपाली बजारमा देखेपछि मन थाम्न सकिनँ। आफूलाई सुहाउँछजस्तो पनि लाग्यो। किनेर लगाइहालेँ।’
सविनासँग टन्नै हट प्यान्ट छन्। ‘हट प्यान्ट लगाँउदा स्टाइलिस देखिन्छुजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘त्यसैले गर्मीमा बढीजसो यही लगाउँछु।’ हट प्यान्ट लगाउन नपाइने भएकाले उनलाई जाडो महिना मन पर्दैन। ‘जाडोमा हट प्यान्ट लगाउन पाइँदैन,’ उनी भन्छिन्, ‘हट प्यान्टकै लागि भए पनि कहिले जाडो सकिएर गर्मी आओस् भन्ने लाग्छ।’ हट प्यान्ट लगाउँदा स्कुटर हाँक्न पनि सजिलो हुने भएकाले उनलाई यो पहिरन मन पर्छ।
चाबहिल, काठमाडौँमा रहेको ‘अलाइक फेसन हाउस’की कपडा व्यापारी रविना राई छसात वर्षयता हट प्यान्ट बेच्न थालेको बताउँछिन्। ‘मैले पसल गर्न थालेको १५ वर्ष भयो,’ उनी भन्छिन्, ‘छसात वर्षदेखि हट प्यान्ट पनि राख्ने गरेकी छु। पहिला यसको खासै माग थिएन। हप्तामा एकदुई जना पनि आउँदैनथे। अहिले त दिनकै १०–१५ जना आउँछन्।’ धेरैले सुतीका हट प्यान्ट खोज्ने उनी बताउँछिन्। ‘यसपालि त गर्मी नलाग्दै थुप्रै केटी हट प्यान्ट खोज्दै आएका थिए,’ उनी भन्छिन्, ‘हट प्यान्टले गर्दा मेरो व्यापार बढेको छ।’ आफ्नो पसलमा १२ सयदेखि हट प्यान्टको मूल्य सुरु हुने उनी सुनाउँछिन्। ‘क्वालिटीअनुसार हट प्यान्टको दाम फरक–फरक हुन्छ,’ उनी भन्छिन्।
२७ वर्षीया सीता मगर बिहेपछि पनि आफूले हट प्यान्ट लगाउन नछोडेको बताउँछिन्। ‘विवाहित भएर पनि हट प्यान्ट लगाएर हिँडेकी छु,’ उनी भन्छिन्, ‘कतिपयले मेरो बारेमा नराम्रो भन्ने गर्छन्। ‘बिहे भएर पनि यस्तो लुगा लगाएर हिँडेकी छे’ भन्छन्। तर, आफूलाई मन परेको लुगा लगाउन न उमेरले छेक्छ, न विवाहित भएकोले।’ उनलाई गर्मीमा पूरा प्यान्ट लगाउन त्यति सारो मन पर्दैन। ‘गर्मीमा पूरा प्यान्ट लगाउँदा पसिना आएर जीउमा टाँसिएर हैरान हुन्थेँ,’ उनी भन्छिन्, ‘छोटो प्यान्ट लगाएर हिँड्न साह्रै सजिलो छ। यो लगायो भने न पसिना आउँछ, न जीउमा टाँसिन्छ।’
काठमाडौँ, चाबहिलस्थित ‘बेल’ कपडा पसलकी व्यापारी अञ्जना धिमाल हट प्यान्टको खोजीमा अविवाहित मात्र होइन, विवाहित महिला पनि उत्तिकै आउने बताउँछिन्। भन्छिन्, ‘अहिले हट प्यान्टको खोजीमा युवती र बिहे गरेका महिला उत्तिकै आउँछन्। उनीहरू सादा प्यान्ट लगाउन रुचाउँछन्। युवतीहरूले भने फोल्डिङ र ग्रन्जमा हट प्यान्ट लैजाने गर्छन्।’ गर्मी याममा पूरा प्यान्टको खोजीमा कोही–कोही मात्र आउने गरेको उनी बताउँछिन्। गाढा रङको ग्रन्ज जिन्समा हट प्यान्ट बढी बिक्री हुने उनी बताउँछिन्। - सम्पूर्णबाट
प्रतिक्रिया दिनुहोस