काठमाडाैं । चलचित्र निर्माता संघ र चलचित्र संघबीच तिज, दसैँ, तिहार र नयाँ वर्षमा बाहेक अरू वेलामा कुनै पनि फिल्म शुक्रबार मात्रै रिलिज गर्ने सहमति थियो । तर, सलमान खान स्टारर भारत भारतमा रिलिजसँगै बुधबारदेखि नै नेपालका हलमा लागेको छ ।
विदेशी फिल्म शुक्रबारअगावै प्रदर्शन गर्न दिइएकोमा निर्माता संघले विज्ञप्तिमार्फत विरोध गरेको छ । अघिल्लोपटक कलंकनामक हिन्दी फिल्म भारतमा बुधबार नै प्रदर्शन भएको थियो । तर, नेपालमा भने व्यापक विरोधका कारण शुक्रबार मात्रै प्रदर्शन भयो । कलंकलाई बुधबार रिलिज हुन नदिएकाले चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले तारिफ पाएका थिए । तर, यसपालि भने उनको केही जोर चलेन ।
भारतको नेपाल वितरक ब्यांक्टेस इन्टरटेन्मेन्टले स्वतन्त्र रूपले व्यापार गर्न पाउनुपर्छ भनेर काठमाडौं जिल्ला अदालतको ढोका ढक्ढक्यायो । अदालतले जुनसुकै बार फिल्म रिलिज गर्न पाउनुपर्ने फैसला गरिदियो । भारत काण्डले गर्दा अब जसले जुन दिन पनि फिल्म प्रदर्शन गर्न पाउने बाटो खुलेको छ । तर, बोर्ड अध्यक्षले भने उप्रान्त शुक्रबार मात्रै प्रदर्शन गर्ने नियम पास गराइछाड्ने दाबी गरेका छन् । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस