काठमाडाैं । कलाकारितामा नयाँ थिइनँ । दर्शकले छिटफुट चिन्थे । नयाँ जोस, ऊर्जा थियो । केही गर्न सक्छु भन्ने विश्वास पनि थियो । त्यही पेरिफेरिमा भद्रगोलका लागि हाम्रो टिम बन्ने भयो । त्यसका लागि कस्ता पात्र राख्ने भनेर रिसर्च गर्यौँ । कस्तो पात्रलाई दर्शकले रुचाउँछन् भनेर पनि खोज्यौँ । मानिसका कुरा सुन्यौँ । राय, सल्लाह लियौँ । त्यसपछि जन्मिएको हो, जिग्री ।
गाउँको युवकलाई आधुनिक अवतारमा देखाउने कुरा भयो । त्यसका लागि मैले आफैँ पनि खुब मिहिनेत गरेँ । गाउँको फटाहा, दादागिरी देखाउन खोज्ने, प्रेमिकाको पछि लाग्ने, जँड्याहा पात्रमा म आफैँ रूपान्तरित हुनु थियो । आवाज पनि गँजडियाको निकाल्नुपर्ने । त्यसका लागि सबै प्रकारका मान्छेसँग संगत गरेँ । कसैको हिँडाइ, कसैको बोलाइ, कसैको ड्रेसअपलगायत कुरालाई नजिकबाट नियालेँ । त्यस्तै मान्छेको जीवनशैलीलाई मैले जिग्रीका माध्यमबाट पर्दामा उतार्नु थियो ।
अहिले त लामै समय भइसक्यो । भद्रगोलले सयौँ शृंखला पार गरेको छ । मैले पनि जिग्रीको भूमिकामा पात्रलाई न्याय गर्न सकेँजस्तो लाग्छ । कतै बाहिर दर्शकसँग भेट हुँदा मलाई जिग्री नै ठानेर जिग्रीले बोल्ने लवजमै बोल्न खोज्नुहुन्छ । त्यो मेरा लागि ठूलो सफलता हो । दर्शकको मायाले पनि मलाई अझै कसरी नयाँ गर्नुपर्छ भन्ने लागिरहन्छ । हरेक शृंखला आफैँमाथिको चुनौतीजस्तो लाग्छ ।
मेरो वास्तविक जीवन पनि जिग्रीले बाँचेको जस्तै छ भनेर सोच्ने दर्शक पनि भेटेको छु । मेरो वास्तविक जीवनमा जिग्रीको जस्तो हिँडाइ, हाउभाउ केही छैन । म जिग्रीजस्तो हावा पनि छैन । सधैँ केटीको पछि लाग्ने, लफडा मात्र गरिरहने किसिमको पनि छैन । तर, जब सेटमा उभिँदा जिग्रीको ड्रेस, हाउभाउ र मानसिक रूपमा जिग्री बनेर निस्कन्छु, मैले आफूलाई कुमार कट्टेल हो भनेर नै बिर्सन्छु ।
जिग्री पात्र हिट हुनुमा मेरो एक्लो प्रयास मात्र छैन । जो–जो जोडिनुभएको छ भद्रगोलमा, सबैको उत्तिकै भूमिका छ । पछि टिममा अन्य साथी पनि जोडिँदै जानुभयो । एक–अर्कालाई सहयोग गर्ने कुरा त भइहाल्छ । साथै, मेरो सहकर्मी अर्जुन घिमिरे, पाँडेसँग सुरुवातदेखि नै छु । उहाँको उस्तै सहयोग छ ।
म त जिग्री पात्रलाई मेरो जीवनकै ‘टर्निङ प्वाइन्ट’ मान्छु । सुरुवातको समयमा एकदम दुःख गरियो । त्यसपछि बिस्तारै दर्शकले रुचाउँदै जानुभयो । मैले निभाएको पात्रलाई मन पराइदिनुभयो । मलाई देश–विदेशमा रहनुभएका नेपालीले जिग्री भनेरै चिन्नुहुन्छ ।
तर, कुनै दिन यस्तो पनि आउनेछ, जतिवेला मैले जिग्री पात्रलाई बिर्सनुपर्ने हुन्छ । कलाकारिताको एउटा समयमा दर्शकले मन पराइरहँदा पछि मन नपाराइदिन पनि सक्छन् । त्यो समयमा छाड्नुपर्ने पनि हुन सक्छ । सधैँ गरिरहिन्छ भन्ने पनि छैन । जबसम्म पब्लिकको रोजाइमा परिन्छ, त्यतिवेलासम्म निरन्तरता दिइन्छ । या त्यो समयमा नयाँ तरिकाले जाउँ न त भन्ने पनि हुन सक्छ । यस्तो वेलामा बिर्सन सकिनेछ । तर, जहाँ पुगे पनि जिग्री मेरो जीवनको पहिलो परिचय हो । जसका कारण म यहाँ छु । भोलि अर्को पात्रबाट बाहिर आउन पनि सक्छु । यदि आइहालेँ भने पनि मैले बिर्सन नसक्ने पात्र हो, जिग्री ।
त्यसो त पात्रभन्दा अगाडि भद्रगोल नै जन्मिएको हो । त्यतिवेला एनटिभीबाटै प्रसारण हुने सिस्नुपानी झ्याम्मैमा काम गरिरहेका थियौँ । तर, प्राविधिक कारणले पछि बन्द भयो । त्यसपछि नयाँ ढंगबाट आउने कुरा भयो । जसको नतिजा हो, भद्रगोल ।
पहिलेभन्दा अहिले दर्शकको बुझाइ धेरै फरक छ । हामीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएजस्तो लाग्छ । त्यसका लागि हामीले पनि आफ्नो ठाउँबाट सकेको मिहिनेत गरेका छौँ । भद्रगोलले ल्याउने विषयवस्तु, भद्रगोलसँग सम्बन्धित भएर गरिएका सामाजिक कामले दर्शक हामीबाट प्रभावित भएजस्तो लाग्छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस