सबैकी प्यारी नम्रता

मंगलबार, २६ चैत्र २०७५, १९ : २६
सबैकी प्यारी नम्रता

काठमाडौं । काठमाडौँस्थित बुद्ध ज्योति स्कुलमा पढेकी हुँ। स्कुल पढ्दाताका एकदमै चञ्चल स्वभावकी थिएँ। एकठाउँमा चुप लागेर बस्नै नसक्ने। पढाइमा राम्रो थिएँ। सबैसँग बोल्ने, चाँडै घुलमिल हुन्थेँ।

केटा र केटी साथी उस्तै थिए। तेस्रो बेन्चमा दीपशिखा भन्ने साथीसँग बस्थेँ। ऊ र म एकदमै मिल्थ्यौँ। सरले पढाइरहँदा हामी दुई खासखुस गरिबस्थ्यौँ। सामाजिक, गणित, अर्थशास्त्र विषय पढ्न मन पथ्र्यो। अप्सनल म्याथ एकदमै ग्राहो लाग्थ्यो। 

मलाई पढ्नबाहेक नाच्नमा रुचि थियो। पढ्न र नाच्न जान्ने भएकाले सरहरूले मन पराउनुहुन्थ्यो। स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ। फस्ट पनि हुन्थेँ। त्यसैले पनि स्कुलमा सबैकी प्यारी थिएँ।

सरहरूको एकदमै डर लाग्थ्यो। सरहरूले गम्भीर भएर पढाउनुहुन्थ्यो। कक्षामा रमाइलो गर्ने वातावरण हँुदैनथ्यो। कुनै दिन सर आउनुभएन भने हामीहरू रमाइलो गरेर बस्थ्यौँ। कहिलेकाहीँ सरले पढाइरहँदा टिफिन खोलेर खानेकुरा खान्थ्यौँ।

क्लासमा म सबैभन्दा सानी थिएँ। सबैले मलाई डल्ली भनेर जिस्काउँथे। छुट्टी भएपछि साथीहरूसँग हल्ला गर्दै घर जान्थेँ। बिदामा साथीहरूलाई भेट्न पाइँदैनथ्यो। त्यसैले स्कुल सधैँ लागिरहोस् भन्ने लाग्थ्यो। स्कुलमा हुँदाताका पिकनिक खूब गइयो।

गणित पढाउने सरले एकदमै माया गर्नुहुन्थ्यो। मेरो पनि फेभरेट सर हुनुहुन्थ्यो। उहाँ ह्यान्डसम हुनुहुन्थ्यो। राम्ररी पढाउनुहुन्थ्यो। स्कुल पढ्दाताका नै उहाँ बित्नुभयो। अहिले पनि उहाँलाई सम्झिन्छु।

एसएलसीको तयारी साथीहरूसँग मिलेर गरेकी थिएँ। घरबाट खानेकुरा लिएर जान्थौँ। बिहानै ४ बजे उठेर पढ्थ्यौँ। एसएलसी सकिएपछि हामी सबै साथी भेला भएका थियौँ। छुटिँदा एकदमै रोएका थियौँ। त्यो समय सम्झिँदा अझै पनि नरमाइलो लाग्छ। 

कक्षा छ पढ्दादेखि नै प्रेम प्रस्ताव आउन थालेका थिए। सबैसँग बोल्ने भएर पनि होला। सबैले मलाई सजिलै प्रेम प्रस्ताव राख्थे। तर, म वास्ता गर्दिनँ थिएँ। कक्षा आठ, नौमा पढ्दा धेरै प्रेम प्रस्ताव आए। प्रेम दिवसमा केटाहरूले फूल, चकलेट, विभिन्न उपहार दिन्थे। म उनीहरूका प्रस्ताव हाँसेर टारिदिन्थेँ। कसैले टेरेनन् भने स्कुलमा सरलाई भनिदिन्थेँ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस