ओके म्यागजिनविरुद्ध प्रियंका–निक अदालत जान सक्ने

पत्रपत्रिकाबाट

विहीबार, २१ चैत्र २०७५, २० : ३३
ओके म्यागजिनविरुद्ध प्रियंका–निक अदालत जान सक्ने

काठमाडौं । प्रियंका चोपडा र निक जोनसको विवाहलाई लिएर केही दिनदेखि सम्बन्धविच्छेदको हल्ला फिँजियो । अन्तर्राष्ट्रिय म्यागजिन ‘ओके’ले दाबी गरेको थियो कि प्रियंका र निकको सम्बन्धविच्छेद हुँदै छ । ओकेले भनेको छ, ‘विवाहपछि एक–अर्काको कमजोरीबारे थाहा भयो र उनीहरू अब साथै रहन चाहँदैनन् ।’ उनीहरूको विवाह भएको चार महिना मात्र भएको छ।

ओके म्यागजिनमा प्रकाशित यो खबर रातारात भाइरल भयो । तर, यो समाचार सत्य नभएको प्रमाणित भएको छ । म्यागजिनले आफ्नो पत्रिकाको बिक्री बढाउन यसो गरेको आकलन पनि छ । जतिवेला प्रियंका र निक परिवारसँग अमेरिकाको मियामीमा छुट्टी मनाइरहेका थिए, त्यतिवेला नै यो समाचार भइरल भएको थियो ।

प्रियंका र निक यो समाचारलाई लिएर खुब दुःखी भएको बताइएको छ । दुवैले ओके म्यागजिनविरुद्ध कानुनी कारबाहीमा जाने कुरा सोचिहेको उनीहरूनिकट साथीले बताएका छन् । ओके म्यागजिनले समाचारमा लेखेको छ, ‘प्रियंका र निकको स–साना कुरामा झगडा हुने गरेको छ । निकको परिवार प्रियंकाले गर्ने खर्चका कारण हैरान छन् ।’

प्रियंकासँग ‘क्वान्टिको’ सिरिज खेल्दा साथी बनेका एक मित्रले यो खबर एकदम झुट भएको पश्चिमेली मिडियालाई बताएका छन् । प्रियंकाको नजिकका अर्का साथीलाई उद्धृत गर्दै एक अनलाइनले लेखेको छ कि यदि प्रियंका सो नकारात्मक खबरविरुद्ध उत्रिइन् भने उनलाई कसैले रोक्नेछैन । उनले भनेका छन्, ‘यदि यस्तो भयो भने ओकेले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस