प्रेम आफैँमा स्वतन्त्रताको उच्चतम बिन्दु हो । यसले न जात हेर्छ, न वर्ग र उमेर । यसलाई न भूगोलले छेक्न सक्छ न यो कुनै एक पेशामा अड्किन्छ । हरेक वर्ग लपक्कै हुन्छन् यसमा । प्रेम दिवसको रुपमा मनाउने भ्यालेन्टाइन्स डे पनि उही त हो । पश्चिमा संस्कृतिको रुपमा सुरु भएको यो अहिले सबैतिर पर्वकै रुपमा फैलिन सक्नुको मूल कारण उही प्रेम नै हो ।
विभिन्न विधामा व्यस्त हुँदाहुँदै पनि प्रेमलाई हेर्ने दृष्टिकोण बराबर नै पाइन्छ । कलाकारिता, राजनीति, व्युरोक्रेसी, खेलकुद, आदि सबै विधामा प्रेमको अर्थ एउटै हुन्छ । यसमा खेल क्षेत्रमा लागेकाहरु किन अछुतो रहन्थे र । उनीहरुको प्रेम अभिव्यक्त गर्ने शैली भिन्न होला, तर प्रेमको परिभाषा त उस्तै नै छ । केही खेल जोडीको प्रेम प्रसंग :
अन्यत्र क्रिकेटर र कलाकारबीचको प्रेम सम्बन्धका किस्साहरु प्रशस्तै भेटिन्छन् । कलाकार–कलाकारबीचको अफेयर्सको गसिपसँगै क्रिकेटर र कलाकारको गसिप संख्या पनि हाराहारी नै आउँछन् । कतिको गसिप सम्बन्ध वास्तवमै रुपान्तरण हुन्छन्, कतिको ब्रेकअपको समाचारसँगै टुट्छन् ।
नेपालमा भने त्यत्ति सुनिँदैनथ्यो कलाकार–क्रिकेटरबीचको प्रेम । यसको प्रारम्भ गरिदिए क्रिकेटर शरद भेषवाकर र नायिका निशा अधिकारीले ।
प्रारम्भमा यी दुवैको प्रेमको हल्ला गसिपकै रुपमा बजारमा आएको थियो । हो र हैन होलाको संख्या बराबरीझै हुँदा निशाले नै शरदसँगको प्रेम यात्राको खुलासा गरिदिएकी थिइन् । यी दुवैबीचको प्रेम सम्बन्ध गसिप र चर्चामा मात्रै समेटिएन । अन्ततः दुवैले एक अर्कालाई जीवन साथीको रुपमा स्विकार गर्दै विवाह गरे ।
ओलम्पियन दीपक विष्ट र आयषा शाक्य नेपाली खेलकुदमा प्रेम जोडीका रुपमा चिनिने जोडी हो । लगातार चारपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दीपकले लामो समयसम्म आफ्नो प्रेम सम्बन्ध लुकाउन सफल भएका थिए ।
खेलकै क्रममा दुवैको मनमा प्रेम टुसाएको थियो । तर उनीहरुसँग निकट भएकाहरुले समेत दुवैको सम्बन्ध विवाहको घोषणापछि मात्र चाल पाएका थिए । अहिले उनीहरु एक छोराको अभिभावक बनिसकेका छन् ।
टेबल टेनिसका चर्चित खेलाडी राकेश महर्जन र नविताबीचको प्रेम खेलकै क्रममा टुसाएको थियो ।
खेलजीवनलाई अगाडि बढाउँदै गर्दा स्कुलमा टेबल टेनिस सिकाउने राकेश गुरु आफ्नै चेली नविताको मायामा फसेका थिए । त्यहीँ टेबल टेनिस सिकाउने क्रममा दुवै नजिक भए । राकेशलाई नविता मन परिन् र प्रपोज गरे । नविताले पनि स्वीकार गरिन् । खेलजीवनसँगै झाँगिएको प्रेमजीवन विवाहको मोडसम्म पुग्न सफल भयो ।
क्रिकेटर ललित सिंह भण्डारी युएईमा गत साता सम्पन्न युएईविरुद्धको दोस्रो एक दिवसीय खेलका चर्चित खेलाडी हुन् । किफायती बलिङ गर्दै विपक्षी खेलाडीको विकेट लिन माहिर ललितले कसैको मनको विकेट लिइसके । उनी केही वर्षअघि मात्र विवाह बन्धनमा बाँधिएका थिए । शुक्रबारबाट
प्रतिक्रिया दिनुहोस