केही महिनाअघि पोषणविद् डा.अरुणा उप्रेती काठमाडौँको एक निजी स्कुुलमा गइन्। त्यहाँबालबालिकाको स्वास्थ्य र खानपानविषयमा छलफल कार्यक्रम थियो।
‘विद्यार्थीहरूलाई के खाजा दिनुहुन्छ?’ उनले स्कुललाई सोधिन्। ‘चाउचाउ, बिस्कुट, चिप्स, जुस,’ स्कुलको जवाफ थियो।
‘मैले शिक्षकहरूलाई ‘यस्ता खानेकुरा विषबराबर हुन्, दिँदैनदिनुस्’ भनेर सम्झाएँ’, उनले भनिन्, ‘उहाँहरूलाई खाजामा चिउरा, खिर, हलुवा, रोटी, मकै, भटमासजस्ता घरेलु खानेकुरा बच्चालाई दिन सल्लाह दिएँ।’
डा. उप्रेतीको सल्लाहअनुसारस्कुलले खाजाको तालिका परिवर्तन गर्यो। त्यसको १५ दिनपछि उनलाईत्यही स्कुलबाट प्रिन्सिपलको फोन आयो। ‘तपाईंले भनेजस्तो खाजा स्कुलमा दिँदा अभिभावक हामीसँग झगडा गर्न आए,’ प्रिन्सिपलले उनलाई भने, ‘मेरो बच्चाको दाँत कमजोर छ, मकै, भटमास, चिउरा चपाउन सक्दैन भनेर धुनचक्र गरे। कतिले त ‘पैसा तिरी–तिरीहामी हाम्रा बच्चालाई मकै, भटमास खुवाउँदैनौँ’ भने।’
यसलाई पोषणविद् डा. उप्रेती ‘मूर्खताको पराकाष्ठा’ भन्छिन्। ‘चकलेट खाँदा बिग्रिएको दाँतको उनीहरूलाई मतलब हुँदैन,’ उनी भन्छिन्, ‘तर, मकै चपाउँदा बच्चाको दाँत कमजोर हुन्छ भन्ने अभिभावक साच्चै मूर्ख हुन्। दाँत भनेको चपाउनकै लागि हो। जति चपायो, दाँत त्यति नै बलिया हुन्छन्।’
डा. उप्रेती अभिभावकहरूमा स्वास्थ्यको सामान्य जानकारीको अभाव रहेको बताउँछिन्। ‘मकैले जस्तो चाउचाउले दाँतको एक्सरसाइज गर्दैन,’ उनी भन्छिन्, ‘जंक खानेकुरा दाँतमा अड्किन्छ। यसले दाँतमा किरा लगाउँछ। जंकफुडको असर शरीरका विभिन्न अंगमा पर्छ, दाँतदेखि मुटुसम्म।’
आमाबाउले बच्चाहरूको स्वास्थ्यलाई लिएर हेलचेक्य्राइँ गर्ने गरेको उनको भनाइ छ। ‘बच्चाहरूको दाँत त हो, बिग्रिए नयाँ आइहाल्छ नि भन्ने चलन छ,’ उनी भन्छिन्, ‘तर, पहिलाको दाँत राम्रो भएन भने पछि आउने दाँत पनि राम्रो हुँदैन। दाँत नराम्रो भएपछि खानेकुरा राम्रोसँग चपाउन सक्दैनन्। चपाउन नसकेपछि खानेकुरा राम्रोसँग पच्दैन।’
गाउँघरको जंकफुड मोह
शहरमा मात्र होइन, गाउँघरतिर पनि जंकफुडले जरा गाडिसकेको पोषणविद् डा. उप्रेती बताउँछिन्। ‘केही समयअघि म सल्यानको एउटा गाउँमा गएकी थिएँ,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘पाँच वर्षकीएकजना बच्ची एकदमै बिरामी थिइन्।आमाको काखमा झोक्राएर बसेकी थिइन्।
उनलाई दुर्ई महिना अस्पतालमा राखेर ल्याइएको रहेछ।’जंकफुडका कारण ती बालिकाको स्वास्थ्य बिग्रिएको थियो। ‘चाउचाउबाहेक केही नखाने रहिछिन्,’ उनी सम्झन्छिन्, ‘सल्यानबाट नेपालगञ्ज अस्पताल लगेर त्यहाँको पोषण पुनःस्थापना केन्द्रमा दुई महिना राख्नुपरेको रहेछ। केही समय ढिला भएको भए उनको ज्यानै जान सक्थ्यो।’
शहरबजारमा मात्र नभएर गाउँघरमा पनि जंकफुडको समस्या उस्तै रहेको उनको अनुभव छ। ‘आफ्ना परम्परागत स्वस्थ खानेकुरा बिर्सिएर बाहिरी खानेकुराको पछि लाग्दा यस्ता समस्या आउँछन्,’ उप्रेती भन्छिन्, ‘बाहिरी जिल्लामा झन् साना प्याकेटमा कम पैसामा चाउचाउ पाइने रहेछ। खोलेर हेर्दा म्याद नाघिसकेका चाउचाउ हुँदा रहेछन्।
नाम नै नलेखेको प्याकेटमा हालेर बेचिराखेको पाएँ।’ म्याद नाघिसकेको खानेकुरामा ढुसी आउने भएकाले यसले बच्चाको कलेजोमा असर पुर्याउने उनी बताउँछिन्। ‘गाउँघरतिर कतिपय अभिभावकले आफ्नो बारीमा फलेका तरकारी र फलफूल बेचेर बच्चालाई टिफिनमा जंकफुड किनेर पठाइदिन्छन्,’ उनी भन्छिन्, ‘त्योभन्दा ठूलो मूर्खता अरू के नै होला र ?’
अज्ञानको कारणभन्दापनि अल्छीपनको कारण धेरै अभिभावकले आफ्ना बच्चालाई जंकफुडको दलदलमा धकेलिरहेको उनी बताउँछिन्। ‘हतार भयो भनेर धेरै अभिभाभवकले फास्टफुड, रेडिमेड फुुड रोज्छन्,’ उप्रेती भन्छिन्, ‘हाम्रा पनि चिउरा, भुटेको चना, मकै, भटमास जस्ता फास्टफुड र रेडिमेड फुुड छन्।’
बाहिरका फास्टफुडभन्दा घरका फास्टफुड निकै सस्ता र स्वास्थ्यकर भएको उनी बताउँछिन्। ‘२० रुपैयाँको चाउचाउभन्दा चिउरा बढी फारो हुन्छ,’ उनी भन्छिन्, ‘शहरी फास्टफुडभन्दा परम्परागत फास्टफुड खानुबेस हुन्छ। तर, अहिले त केक नभई कुनै पार्टी नै हुँदैन। सेल, पुरी, मालपुवा पकाउने चलन हटेर गइसक्यो।’ पुर्खाहरूले जे खाए, त्यो नै स्वस्थ र राम्रो खाना भएको उनी बताउँछिन्। खानेकुराले मानिसको जीवनमा जन्मदेखि मृत्युसम्म अर्थ राख्ने उनको ठहर छ। ‘आमाले जे खान्छिन्, त्यसको असर बच्चामा पर्छ,’ उनी भन्छिन्, ‘मान्छे मरेपछि हामी भातको पिण्ड दिन्छौँ। चाउचाउको पिण्ड त दिँदैनौँ नि।’
छुट्टी हुनासाथ हातमा जंकफुड
भक्तपुर, बालकोटस्थित माउन्ट भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जन जंकफुडले बच्चाहरूलाई छिट्टै लोभ्याउने बताउँछन्। ‘जंकफुडमा अनेकथरी गेम र स्टिकर राखिदिएको हुन्छ,’ उनी भन्छन्, ‘त्यही पाउनका लागि भएपनि आमाबुबासँग झगडा गरी–गरीबच्चाहरू जंकफुड किन्छन्।’ आफ्नो स्कुलमा जंकफुडनिषेध गर्न निकै कोसिस गरेको, तर सफल नभएको महर्जनको नमीठो अनुभव छ।
‘हामीले ब्यान गरे पनि लुकाई–लुकाई खान्छन्,’ उनी भन्छन्, ‘हामीले थाहा नपाउने गरी लुकी–लुकी खान्छन्। अभिभावकलाई ‘किन जंकफुड पठाएको ?’ भनेर सोध्यो भने ‘भ्याइएन सर, आज एकदिन मात्रै हो,भोलिदेखि पठाउँदैनौँ’ भन्छन्। त्यो भोलि कहिल्यै आउँदैन।’ स्कुलभित्र नियन्त्रण गर्न खोजेपनि स्कुलबाहिर केही सीप नलाग्ने उनी बताउँछन्। ‘स्कुल छुट्टी हुनासाथ विद्यार्थीहरू लहरै पसलतिर कुदिहाल्छन्,’ प्रिन्सिपल महर्जन भन्छन्, ‘सबैका हातमा जंकफुडका प्याकेट हुन्छन्। विद्यालयवरपर यस्ता पसलहरू राख्न नदिने हो भने स्कुले विद्यार्थीलाई केही हदसम्म जंकफुडबाट टाढा
राख्न सकिन्थ्यो कि ?’
धेरै अभिभावक जंकफुुड खुवाउनुलाई आफ्नो बाध्यता ठान्छन्। तर, यो कुरा मान्न तयार छैनन्, पोषणविद् डा. उप्रेती।‘जानी–जानी अस्वास्थ्यकर खानेकुरा खुवाउनुपर्ने विवशता हुँदैन,’ उनी भन्छिन्, ‘त्यो त एउटा बहाना मात्र हो। आजभन्दा पहिला जंकफुड नहुँदा स्कुले बच्चाहरू भोकै बसेका थिए र ?’
पसलमा सामान किनेर ल्याउने बेलासम्म घरमै खाजा तयार गर्न सकिने उनी बताउँछिन्।‘यो समयको समस्या होइन, मानसिकताको समस्या हो,’ उप्रेती भन्छिन्, ‘भोलि छोराछोरीलाई अस्पतालको बेडमा कुर्नुभन्दा आज उनीहरूको स्वास्थ्यमा ध्यान दिनु बेस हुन्छ। बच्चा बिरामी पर्दा अभिभावक आफैँलाई अप्ठ्यारो पर्छ।’ सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस