डा. योगी विकासानन्द
स्वास्थ्यसँग सम्बन्धित विभिन्न खोज र अनुसन्धानले खुशी रहन सकिएन भने स्वस्थ रहन सकिन्न भन्ने देखाएका छन्। खुशी रहनुलाई नै स्वास्थ्यको आधार मानेका छन्।
विशेष गरी अध्यात्मको क्षेत्रमा ‘आफूलाई चिनौँ, बुझौँ वा जानौँ’ जस्ता विषय धेरै सुन्ने गरिन्छ। अझ, आध्यात्मिक यात्राको खास गन्तव्य नै आफूलाई चिन्नु वा बुझ्नु हो भन्ने निष्कर्ष छ। जब व्यक्तिले आफूलाई चिन्छ, त्यसपछि संसारमा चिन्न बाँकी केही पनि नहुने र आफूलाई नचिनीकन भौतिक संसारको जति विषय र क्षेत्रबारे जानकारी राखे पनि त्यो अर्थहीन हुने भन्ने मान्यता आध्यात्मिक जगत्को छ।
यो मान्यता आम मानिसका लागि निकै जटिल प्रतीत हुन्छ। यदि यसो हुँदैनथ्यो भने हजारौँ वर्षदेखि अधिकांश धर्मशास्त्रले ‘आफूलाई चिनौँ’ भनेर मार्गनिर्देश गरेका गरे छन्। लाखौँ÷करोडौँ धर्मगुरु र पण्डितले ‘आफूलाई चिन्न’ आह्वान गरिरहेकै छन्। तर, किन सयौँ÷हजारौँ वर्षमा एउटा युग पुरुष मात्र अध्यात्मको गन्तव्यसम्म पुग्छ। किन वर्षौंवर्षमा एउटा व्यक्ति मात्र आफूलाई चिन्न सक्षम बन्छ ? यसबाट नै ‘आफूलाई चिनौँ, बुझौँ वा जानौँ’ भन्न र सुन्न जति सजिलो छ, त्यसको परिणामसम्म पुग्न कठिन छ भन्ने विषय स्पष्ट हुन्छ।
आध्यात्मिक क्षेत्रको ‘आफूलाई चिनौँ, बुझौँ वा जानौँ’ भन्ने विषय हामीलाई अलौकिक वा यो दुनियाँभन्दा निकै टाढाको विषय जस्तो लाग्छ। हामीले धर्मशास्त्रमार्फत सुन्दै आएको आध्यात्मिक तप र साधना हामीलाई हाम्रो पहुँचको विषयभन्दा परको लाग्छ। यस्तो लाग्नु स्वाभाविकै हो।
हामीलाई अध्यात्म भनेर जसरी बुझाइयो, उक्त बुझाइले यस्तो धारणा नै निर्मित हुने हो। यो त भयो हामीले नदेख्ने, सामान्य अवस्थामा नबुझन्ने र कठिन प्रतीत हुने अध्यात्मको विषय। तर, सहज अनुभूति हुने वा आफूसँगै रहेको र प्रष्ट देखिने आफ्नो भौतिक शरीरको विषयमा हामी के कति जानकारी राख्छौँ ? हामीलाई हाम्रो शरीरबारे के–के थाहा छ ? शरीरको सञ्चालन प्रक्रिया, योसँग जोडिएका कयौँ प्रणाली, यसको कार्य सम्पादन पद्धतिको विषयमा हामी कति जानकार छौँ ?
हामीमध्ये असाध्यै थोरै अझ भनौ मेडिकल साइन्स पढ्नेहरू मात्र हाम्रो शरीरको विधिविधान र प्रक्रियाबारे धेरथोर जानकार छन्। हामीलाई हाम्रो शरीरको बारेमा जानकारी राख्नुपर्छ भन्ने नै थाहा नहुन सक्छ ? हामीले शरीरको जानकारी राख्ने ठेक्का डाक्टर वा स्वास्थ्यकर्मीलाई सुम्पिएका छौँ।
जसले ‘म’ वा ‘आफू’ भन्ने पहिचान वा अस्तित्वलाई प्रदर्शित गर्छ, जो बिग्रियो भने पूरा जीवन कष्टदायी बन्छ, जसको सहजता वा स्वास्थ्य अवस्थामा मात्र सम्पूर्ण कार्य सम्पादन सहज बन्छन्। त्यस विषयमा हामीले जानकारी राख्नुपर्छ कि पर्दैन ? के मानव शरीरबारे जानकारी राख्ने काम स्वास्थ्यकर्मीको मात्र हो त ? होइन, हरेक व्यक्तिको हो।
हामीले आफ्नो शरीरको मूलभूत संरचना, कार्य प्रणाली र अवस्थाको विषयमा जानकारी राख्नैपर्छ। किनकि, हामीले सामान्य दृष्टिले देख्ने यो शरीरभित्र लाखौँ असामान्य र आश्चर्यलाग्दा कार्य भइरहेका हुन्छन्। एउटा सानो कार्यमा समस्या आयो वा उक्त कार्य प्रणाली अवरुद्ध भयो भने हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्छ।
आफ्नो शरीरलाई जानौँ
जसरी अध्यात्ममा ‘आफूलाई चिनौँ’ भन्ने गरिन्छ त्यसै गरी ‘आफ्नो शरीरलाई जानौँ’ पनि भन्न सकिन्छ। मानव शरीरका विषयमा हजारौँ वर्षदेखि विभिन्न अनुसन्धान हुँदै आएका छन्। अहिले प्रचलनमा रहेका औषधि र स्वास्थ्य सेवा हजारौँ वर्षदेखिको मानव शरीरसँग जोडिएको अध्ययन–अनुसन्धानबाट प्राप्त नतिजा हुन्।
अहिले पनि मानव शरीरसँग सम्बन्धित अनुसन्धान भइरहेका छन्। जति–जति मानव शरीरसँग जोडिएका अध्ययनबाट नयाँ–नयाँ नतिजा सार्वजनिक हुन्छन्, उति–उति यो मानव शरीर रहस्यात्मक र आश्चर्य प्रतीत हुन्छ।
हामीले स्कुल पढ्दा स्वास्थ्य शिक्षाअन्तर्गत मानव शरीरसँग जोडिएका जेजस्ता विषय र तथ्य पढ्यौँ, ती कतिपय तथ्य ‘डेट एक्सपायर्ड’ हुने अवस्थामा पुगेका छन्। किनकि, पछिल्ला अध्ययन र अनुसन्धानले हामीले पढेका र जानेका क्षेत्रभन्दा फरक विषयाई उद्घाटित गरिरहेका छन्।
हिजो रोग लाग्नाको कारण जेलाई मानिन्थ्यो, आज फरक कारण पत्ता लाग्दै गएको छ। हिजो भौतिक व्यवस्थापन (आहार, बिहार आरामलगायत)मा हुने समस्याले गर्दा नै मान्छे सम्पूर्ण रूपमा रोगी हुने निष्कर्ष निकालिन्थ्यो। तर, आज मानसिक क्षेत्र वा मन नै रोग लाग्नुको मुख्य कारणको रूपमा अगाडि आउँदै छ। हिजो स्वास्थ्यकर खाना र पानी नपाएकै कारण मानिस रोगी बन्न बाध्य हुन्छ भन्ने आम धारणा थियो। तर, आज तनाव नै मानिसलाई रोगी बनाउने जडको रूपमा स्थापित हुँदै छ।
मानव स्वास्थ्य वा शरीरसँग जोडिएमा नयाँ–नयाँ खोज र अनुसन्धानको विषयमा हामी जानकार बन्नैपर्छ। किनकि, हामीले हाम्रो शरीरको विषयमा स्पष्ट जानकारी राख्न सक्यौँ भने मात्रै हामीले आफूलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्न सक्छौँ। छिपछिपे वा अर्ध ज्ञान घातक हुन्छ भन्ने हामीले सुनेकै छौँ। शरीरसँग जोडिएको यस्तै छिपछिपे ज्ञानका कारण हामी हैरानी झेलिरहेका पनि हुन सक्छौँ। तसर्थ, आफ्नो शरीरलाई जान्नु अत्यन्त जरुरी छ।
इन्डोकनाबिनोइड प्रणाली
हामीले विद्यालयमा पढ्दा हाम्रो शरीरभित्र रक्त सञ्चार प्रणाली, स्नायु प्रणाली श्वास–प्रश्वास प्रणाली, प्रजनन प्रणाली, पाचन प्रणालीलगायत ११ वटा प्रणाली हुन्छन् भन्ने पढेका थियौँ। यिनै प्रणालीले गर्ने कार्यले नै हाम्रो शरीर सञ्चालित हुन्छ भनेर हामीलाई पढाइएको थियो। सन् १९९० मा यो ११ प्रणालीबाहेक पनि हाम्रो शरीरमा अर्काे एउटा प्रणाली रहन्छ भन्ने पत्ता लागेको थियो, जसलाई इन्डोकनाबिनोइड प्रणाली भनिन्छ।
यो प्रणाली पत्ता लाग्नुअघिसम्म स्नायु प्रणालीलाई शरीरको सबैभन्दा जटिल र महत्त्वपूर्ण प्रणालीको रूपमा हेरिन्थ्यो। तर, इन्डोकनाबिनोइड प्रणाली पत्ता लागेपछि वैज्ञानिकहरू बिस्तारै यो प्रणालीलाई नै शरीरको सबैभन्दा महत्त्वपूर्ण प्रणालीको रूपमा लिन थालेका छन्। सामान्य भाषामा भन्दा इन्डोकनाबिनोइड प्रणाली अन्य सम्पूर्ण प्रणालीको राजा प्रणाली हो।
वैज्ञानिक खोज–अनुसन्धानले हाम्रो मस्तिष्क र शरीरमा इन्डोकनाबिनोइड रिसेप्टर हुने पत्ता लगाएको छ। रिसेप्टर भन्नाले कुनै कुरा लिने, सोस्ने, खाने वा खपत गर्ने अवस्था वा क्षेत्रलाई बुझाउँछ। उदाहरणका लागि हाम्रो नाक र मुख दुवै रिसेप्टर हुन्। नाकले हावा रिसिभ गर्छ भने मुखले खाना र पानी रिसिभ गर्छ। इन्डोकनाबिनोइड रिसेप्टरहरूले पनि आनन्दामाइड भन्ने न्युरो ट्रान्समिटर रिसिभ गर्छ। आनन्द दिने भएकाले यसलाई आनन्दामाइड भनिएको हो।
इन्डोकनाबिनोइड रिसेप्टरले आनन्दामाइड रिसिभ गर्न पाएन भने हाम्रो शरीरको सम्पूर्ण प्रणालीलाई बिथोलिदिन्छ। उदाहरणको लागि नाकले हावा रिसिभ गर्न पाएन भने हाम्रो शरीरको सम्पूर्ण कार्य प्रणाली अवरुद्ध वा नष्ट हुन्छ भनेझैँ इन्डोकनाबिनोइड रिसेप्टरले आनन्दामाइड रिसिभ गर्न पाएन भने अन्य ११ वटा प्रणालीलाई नै असर पुर्याउँछ।
विशेष गरी इन्डोकनाबिनोइड रिसेप्टरले आनन्दामाइड नपाउनेबित्तिकै पाचन प्रणाली र रोग प्रतिरोधात्मक प्रणालीमा तत्काल समस्या सुरु हुन्छ। शरीरलाई स्वस्थ राख्ने मुख्य आधार नै रोग प्रतिरोधात्मक प्रणाली हो। जब यो प्रणालीमा नै समस्या देखापर्छ त्यसपछि शरीर रोगको घर बन्नु स्वाभाविक नै हो।
आनन्दामाइड नपाउनु भनेको मानिस दुःखी हुनु हो। मानिस दुःखी भएको बेलामा उसलाई खान मन लाग्दैन। किनकि, इन्डोकनाबिनोइड रिसेप्टरले आनन्दामाइड नपाएपछि पाचन प्रणालीमा समस्या पैदा हुन्छ। पाचन प्रक्रियाको सहज अवस्था नहुनेबित्तिकै पेटमा ग्रेलिन र लेप्टिनजस्ता रसायन रिलिज हुन सक्दैनन्। यी रसायन रिलिज नहुनासाथ भोक लागेको थाहा नै हुँदैन। त्यसै गरी, निद्रा लाग्नका लागि मेलाटोनिन भन्ने रसायन रिलिज हुनुपर्छ।
यो रसायन रिलिज भएन भने हामी निदाउन सक्दैनौँ। ग्रेलिन र मेलाटोनिनलगायत अधिकांश रसायन रिलिज हुनका लागि इन्डोकनाबिनोइड प्रणालीमा कुनै पनि समस्या आएको हुनु हुँदैन। यदि यसले आनन्दामाइड पाएन भने शरीरका अधिकांश रसायनले काम नगर्ने अवस्था निर्माण हुन्छ।
तनाव आनन्दामाइडको शत्रु
मानिस तनावमा वा खुशी हुन नसकिरहेको अवस्थामा आनन्दामाइड निर्माण प्रक्रिया अवरुद्ध हुन पुग्छ। मानसिक रूपमा आनन्दित वा खुशी भएको अवस्थामा मात्र आनन्दामाइड निर्माण हुने हो। यसरी हेर्दा मानिस खुशी हुन सकेन भने सम्पूर्ण प्रकारका रोग लाग्छ भन्न सकिन्छ। किनकि, खुशी नभई आनन्दामाइड बन्दैन।
आनन्दामाइड नबनी इन्डोकनाबिनोइड प्रणाली सुचारु हुँदैन। यो प्रणाली सुचारु नभई रोग प्रतिरोधात्मक प्रणालीले काम गर्न सक्दैन। जब रोग प्रतिरोधात्मक प्रणाली कमजोर बन्छ, हामीलाई जुनसुकै रोग लाग्ने सम्भावना हुन्छ।
कतिपय अवस्थामा अन्य शारीरिक गडबडी र भोजनको असन्तुलनका कारणले पनि आनन्दामाइड नबन्न सक्छ। यस्तो अवस्थामा हामीले खानामार्फत पनि यसको पूर्ति गर्न सक्छौँ। चकलेटमा प्रयोग हुने कोका पाउडर र गाँजामा क्यानाबिस भन्ने रसायन पाइन्छ। उक्त रसायनले आनन्दामाइड निर्माण गर्छ। यदि शरीरले आनन्दामाइड निर्माण गर्न सकेको छैन भने हामीले गाँजाको चिया र कोका पाउडर वा डार्क चकलेट खान सक्छौँ।
स्वास्थ्यसँग सम्बन्धित पछिल्ला खोज र अनुसन्धानले खुशी रहनुलाई नै स्वास्थ्यको आधार भन्न थालेका छन्। अर्थात्, खुशी रहन सकिएन भने स्वस्थ रहन सकिन्न। त्यसैले हामीले अबको स्वास्थ्य शिक्षा दिँदा खुशी रहने वा तनावमा नबस्ने विषयलाई बढी जोड दिनुपर्छ।
यसको अर्थ सरसफाइ, खानपान, व्यायामलगायत अन्य विषयलाई प्राथमिता दिनुपर्र्दैन भन्न खोजिएको होइन। विगतमा हामीले भौतिक व्यवस्थापनबाट शरीर स्वस्थ रहन्छ भन्ने विषयलाई जोड दियौँ। तर, चिकित्सा विज्ञानको पछिल्ला विकास क्रमले शारीरिक व्यवस्थापन सँगसँगै मानसिक व्यवस्थापनलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने तथ्यलाई प्रकाशमा ल्याइरहेका छन्। यो तथ्यलाई हामीले व्यवहारमा लागू गर्न सक्नुपर्छ। यदि यसो गरियो भने मात्रै हामी स्वस्थ जीवन बाँच्न सक्छौँ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस