थोरै ‘एक्स्ट्रा’ले बनाउँछ ‘एक्स्ट्राअर्डिनरी’

सोमबार, २० फागुन २०७५, १७ : ५१
थोरै ‘एक्स्ट्रा’ले  बनाउँछ ‘एक्स्ट्राअर्डिनरी’

याेगी विकासानन्द
हामी दशकौँ लगाएर विश्वविद्यालयको अध्ययन समाप्त गर्छौं। जीवनको उर्वर समय शिक्षाकै लागि खर्चन्छौँ। तर, सोही समयमा अत्यन्तै थोरै समय दिएर प्राप्त हुने ‘एक्स्ट्रा’ अध्ययनमा हाम्रो कहिल्यै ध्यान जाँदैन।

कुनै बैंकमा काम गर्ने तल्लो तहको कर्मचारी र सोही बैंकको प्रमुखबीचको पारिश्रमिकमा कति फरक होला ? हामी सहजै, कयौँ गुणाको फरक अनुमान गर्नसक्छौँ। तल्लो तहको कर्मचारीले मासिक केही हजारको पारिश्रमिक पाइरहेको हुन्छ भने प्रमुखले लाख–लाखमा। अनि, उक्त कर्मचारी र प्रमुखको शैक्षिक योग्यतामा कति फरक होला ?

यसको स्पष्ट जवाफ त दिन नसकौँला, तर प्रमुख र उक्त बैंकको कुनै अधिकृत स्तरको कर्मचारीको शैक्षिक योग्यतामा खासै फरक भेट्टाउँदैनौँ। बैंकको प्रमुखले पनि सामान्यतः स्नातकोत्तर तह उत्तीर्ण गरेको हुन्छ भने अधिकृत स्तरको कर्मचारीले पनि त्यति नै। शैक्षिक योग्यता बराबर हुँदाहुँदै पनि एक जनाले लाखौँको तलब खान्छ त अर्कोले केही हजारको। यस्तो किन हुन्छ ?     
०००

पत्रकारिता अध्ययन गराउने विश्वविद्यालयको प्राध्यापकलाई पत्रकारितासम्बद्ध सैद्धान्तिक ज्ञान जति हुन्छ, एउटा सम्पादकलाई नहुन सक्छ। सामान्य श्रेणीमा पत्रकारिता पास गरेको एक जना व्यक्ति सम्पादकका रूपमा चर्चित र प्रतिष्ठित हुन्छ। तर, त्यही सम्पादकलाई पत्रकारिताको शिक्षण गराउने प्राध्यापक त्यति चर्चित बन्दैन। सरसर्ती हेर्दा पत्रकारिताको विषयगत ज्ञान जसलाई बढी छ, त्यही व्यक्ति नै पत्रकारिता जगत्मा स्थापित हुनुपर्ने हो। तर, पत्रकारिताको विषयगत (कलेजको अध्ययन भन्ने अर्थमा) ज्ञानमा अब्बल नदेखिने अर्को व्यक्तिले सम्पादकका रूपमा काम गरिरहेको हुन्छ। किन ?
०००

माथिका दुई सवाललाई उधिन्नुभन्दा अगाडि हाम्रो शैक्षिक पद्धतिलाई समीक्षा गर्नुपर्ने हुन्छ। हामी हाम्रा सन्तानलाई सम्बन्धित विषयमा उच्च अंक ल्याउन तीव्र दबाब दिन्छौँ। आज विद्यालय वा कलेजमा राम्रो अंक ल्याएर उत्तीर्ण गर्न सकियो भने भोलि सहज जिन्दगी जिउन सकिन्छ भन्ने हाम्रो बुझाइ छ। तर, परिणाम हाम्रो बुझाइभन्दा नितान्त फरक देखिन्छ। जबसम्म हामी यो तथ्य र यथार्थ बुझ्दैनौँ, तबसम्म आफ्ना सन्ततिलाई सक्षम र सामथ्र्यवान् बनाउन सक्दैनौँ।

माछालाई रूख चढ्ने शिक्षा
हरेक मानिसले जन्मजातै पृथक् र विशिष्ट क्षमता लिएर आएको हुन्छ। ऊ जुन क्षमता लिएर आएको छ, उक्त क्षमतासम्बद्ध कार्य गर्न पाएन भने उसको सम्पूर्ण जीवन औसत बन्न पुग्छ। हाम्रो शिक्षा प्रणालीले सबैलाई औसत बन्नकै लागि उत्प्रेरित गरिरहेको छ। उदाहरणका लागि, एउटा अस्पतालमा सय जना बिरामी हुन्छन्। सामान्यतः ती बिरामीका रोग फरक–फरक हुन्छन्।

रोग एउटै भए पनि रोगको ‘स्टेज’ फरक हुन्छ। डाक्टरले रोग र रोगको चरणका आधारमा फरक–फरक औषधि प्रयोग गर्छन्। यदि डाक्टरले सय जना बिरामीलाई एउटै औषधि सिफारिस गरिदिए भने के हुन्छ ? कुरा स्पष्ट छ– अधिकांश बिरामीको रोग निको हुँदैन वा कतिपयको त मृत्यु नै हुनसक्छ। यसमध्ये केही बिरामीलाई उक्त औषधिले फाइदा पनि गर्न सक्ला। तर, अधिकांश सोही औषधिका कारण बर्बाद हुन्छन्। त्यस्तै, एउटा कक्षामा ४० जना विद्यार्थी छन्।

ती ४० विद्यार्थीमा ४० प्रकारका स्वभाव र क्षमता हुन्छन्। ती सबैलाई हाम्रो शिक्षाले एउटै किताब पढाउँछ। सय जना बिरामीलाई डाक्टरले एउटै औषधि दिनु र ४० किसिमका स्वभाव भएका विद्यार्थीलाई एउटै किताब पढाउनुमा ताŒिवक भिन्नता छैन। डाक्टरको औषधिले तत्काल हानि देखाउँछ भने प्रचलित शिक्षण पद्धतिले दीर्घकालीन।

अल्बर्ट आइन्सटाइनले ‘एभ्रीवान इज ए बर्न जिनियस’ अर्थात् ‘प्रत्येक व्यक्ति जन्मजात प्रतिभाशाली हुन्छ’ भनेका छन्। यसको अर्थ के हो भने पक्षीको प्रतिभा उड्नुमा हुन्छ। तर, उसलाई पौडी सिकाइयो भने ऊ मर्छ वा उसको प्रतिभा समाप्त हुन्छ। त्यसै गरी, माछालाई रूख चढ्ने शिक्षा दिइयो भने ऊ पनि समाप्त हुन बाध्य हुन्छ।

अहिले हामी शिक्षाको नाममा चरालाई पौडिने र माछालाई रूख चढ्ने शिक्षा दिइरहेका छौँ र माछाले रूख चढ्न नसक्नुलाई उसको कमजोरीका रूपमा अथ्र्याइरहेका छौँ। जसको जुन सामथ्र्य छ, सोही अनुसारको शिक्षा उसलाई प्रदान गर्न सकियो भने अल्बर्ट आइन्सटाइनले भनेको ‘एभ्रिवान इज ए बर्न जिनियस’ सम्भव हुनपुग्छ।

कलेज नपढ्ने युग रूपान्तरणका सारथि
संसारका सफल भनिएका अधिकांश मानिसका सफलताका पछाडि स्कुल र विश्वविद्यालयमा अध्ययन गराइने शिक्षाको खासै योगदान देखिँदैन। मान्छे शिक्षाले सफल हुँदैन, विशेषज्ञताले सफल हुन्छ। विशेषज्ञताका लागि स्कुल र कलेजले प्रदान गर्ने शिक्षाको आवश्यकता नपर्नसक्छ। शिक्षाको आधार ‘लजिकल माइन्ड’ हो।

अर्थात्, जसलाई तर्क र गणितसँग सरोकार छ, उक्त व्यक्तिका लागि मात्र स्कुल र कलेजको शिक्षा लाभदायक हुन्छ  । तर कला, भावना र शारीरिक क्षमता (फिजिकल इन्टेलिजेन्स ) बोकेर आएको मानिसका लागि शिक्षाको खासै अर्थ रहँदैन। अधिकांश मानिसले शारीरिक क्षमता लिएर आएका हुन्छन्। यस्ता मानिसले गणित शिक्षणबाट लाभ लिन सक्दैनन्।

डाइनामो र बिजुलीको चिमको आविष्कारले उन्नाईसौं औं शताब्दीको युग रुपान्तरणमा ठुलो योगदान पुर्‍यायो। डाइनामोको कारण उद्योगधन्दा निर्माणसँगै औद्योगीकरणले तीव्रता पायो। बिजुलीको चिम आविष्कारपछि मानिसहरू चौबीसै घण्टा काम गर्न सक्ने भए।

यस्तो महŒवपूर्ण रूपान्तरणमा योगदान पुर्‍याउने माइकल फराडे र थोमस अल्वा एडिसनले विद्यालयको प्राथमिक तहभन्दा माथि पढेका थिएनन्। एडिसनलाई त लद्दू विद्यार्थी भन्दै स्कुलबाट निकाला गरिएको थियो। तर, स्कुलबाट निकालिएका तिनै लद्दू विद्यार्थी नै युग रूपान्तरणको नायक बन्न पुगे।

एक्काइसौँ शताब्दीको युग रूपान्तरणमा महŒवपूर्ण योगदान पुर्‍याउने मार्क जुकरबर्ग, स्टिभ जब्स, बिल गेट्स जस्ता व्यक्ति पनि कलेज ‘ड्रपआउट’ हुन्। यिनै ‘ड्रपआउट’का सिर्जनात्मक क्षमतावरिपरि नै आज सिंगो संसार घुमिरहेको छ। यसो भनिरहँदा पढ्नु हुँदैन भन्ने अर्थ लगाउन मिल्दैन।

स्टफेन हकिङ जस्ता महान् वैज्ञानिक प्रचलित शिक्षा प्रणालीकै उपज हुन्। हकिङले स्कुल र कलेजले प्रदान गरेको शिक्षामै टेकेर उपलब्धि हासिल गरेका हुन्। तर, बुझ्नुपर्ने कुरा कहाँ छ भने प्रचलित शिक्षा प्रणाली पाँच प्रतिशत विद्यार्थीका लागि मात्र उपलब्धिमूलक छ, ९५ प्रतिशतका लागि यातना।

शिक्षाले मानिसलाई महान् बनाउँछ भन्ने भ्रम छ। यदि यस्तो हुन्थ्यो भने डिग्री हासिल गर्नेजति सबै महान् हुनुपर्ने हो। तर, यसो हुँदैन। डिग्री गरेको एक जना मानिस बैंकको प्रमुख बनेर काम गरिरहेको हुन्छ भने उति नै शैक्षिक योग्यता भएको मानिस सामान्य जागिर खाइरहेको हुन्छ। बैंकको प्रमुखले शिक्षाकै कारणले बढी तलब पाएको हो भने उति नै शिक्षा लिएका अरूले पनि प्रमुखबराबर नै तलब पाउनुपर्ने हो।

बैंकको प्रमुख अरू कर्मचारीभन्दा क्षमतावान् छ र सोही क्षमताका कारण उसले बढी कमाइ गर्छ भन्ने हाम्रो बुझाइ छ। यदि यसो हो भने उसले पृथक् क्षमता कहाँबाट आर्जन गर्‍यो त ? हामी यस विषयमा कहिल्यै पनि ख्याल पुर्‍याउँदैनौँ। कला, संगीत जस्तो विषय हुन्थ्यो भने उसले जन्मजात नै क्षमता लिएर आएको हो भन्न सकिन्छ। तर, बैंकिङ क्षेत्रको क्षमता सामान्यतः जन्मजात  आएको हुँदैन। बैंकिङ क्षेत्रलाई नेतृत्व दिनसक्ने सामथ्र्य निर्माण गर्नुका पछाडि उसको अतिरिक्त ज्ञान जिम्मेवार छ।

‘एक्स्ट्रा’ अध्ययन, तालिम र संगत
हामीले स्कुल वा विश्वविद्यालयमा पढ्ने पुस्तकमा दशौँ वर्षअगाडि पत्ता लगाएका विषय समाहित हुन्छन्। त्यतिबेला पढेका विषय अहिलेको तीव्र परिवर्तनशील वर्तमानमा बासी भइसकेका हुन्छन्। जसले आफूलाई उच्चपदस्थ बन्ने सामथ्र्य निर्माण गरेका हुन्छन्, उनीहरू ती पुराना वा बासी अध्ययनमा मात्रै रोकिँदैनन्।

अतिरिक्त पुस्तक वा विषयको अध्ययनलाई निरन्तरता दिन्छन्। आम मानिस ‘अर्डिनरी एजुकेसन’मा मात्रै केन्द्रित हुन्छ। तर, ‘एक्स्ट्राअर्डिनरी’ बन्ने मानिसले केही ‘एक्स्ट्रा’ अध्ययन गरिरहेको हुन्छ।

अतिरिक्त किताब पढ्दैमा यति धेरै दूरी रहन्छ त ? भन्ने हामीलाई लाग्नसक्छ। यसका लागि हामी ‘स्विमिङ’ प्रतियोगिताको उदाहरण लिन सक्छौँ। स्विमिङमा ‘गोल्ड मेडलिस्ट’  प्रतियोगी र गणनामै नआउने प्रतियोगीबीच केही सेकेन्डको मात्र फरक हुन्छ। सर्वश्रेष्ठ हुने मानिस केही सेकेन्ड अगाडि पुग्छ त गणनामा नपर्ने केही सेकेन्डपछि।

त्यही केही सेकेन्डको फरकले एउटा मान्छे गोल्ड मेडलिस्ट बन्न पुग्छ भने अर्को गणनामै आउँदैन। मात्र ‘एक्स्ट्रा’ पाँच सेकेन्ड उसले प्राप्त गरेको भए गणनामै नपर्ने मानिस सफल बन्न पुग्थ्यो। त्यस्तै, सामान्य जस्तो देखिने ‘एक्स्ट्रा’ अध्ययनले एउटा मानिसलाई उच्चपदस्थ र सफल बनाउँछ।

हामी दशकौँ लगाएर विश्वविद्यालयको अध्ययन समाप्त गर्छौं। जीवनको उर्वर समय शिक्षाकै लागि खर्चन्छौँ। तर, सोही शिक्षणको समयमा अत्यन्तै थोरै समय दिएर प्राप्त हुने ‘एक्स्ट्रा’ अध्ययनमा हाम्रो कहिल्यै ध्यान जाँदैन।

जसको परिणाम आफू जस्तै शैक्षिक योग्यता भएको मानिस आफ्नो बोस बन्छ र उक्त मानिसको जीवनभर कारिन्दा भएर काम गर्छौं। अरू बेला समय नभए पनि सुत्नुअगाडि कम्तीमा एक घण्टा अतिरिक्त अध्ययनलाई समय दिने हो भने हामी पनि सफल जीवन बाँच्नका लागि सक्षम बन्छौँ।

अतिरिक्त अध्ययनसँगसँगै आफ्नो विषयगत क्षेत्रको तालिम लिनु जरुरी छ। प्रायः तालिम अत्याधुनिक ज्ञान, प्रविधि र शिल्पमा आधारित हुन्छन्। स्कु्ल र कलेजमा पढेको शिक्षाले दिनेभन्दा फरक अनुभव र ज्ञान तालिमले दिन्छ।

हामीकहाँ तालिम लिने संस्कार नै छैन। तालिमलाई प्रायः बसिबियाँलोका रूपमा मात्र हेर्ने गरिन्छ। संसारका प्रसिद्ध संस्थामा नेतृत्व गर्नेले हरेक वर्ष नयाँ–नयाँ तालिम लिइरहेका हुन्छन् वा तालिमलाई अनिवार्य अंगका रूपमा स्वीकार गरेका हुन्छन्।

तालिमले नयाँ कुरा सिकाउनुसँगै सम्बन्धित विषयको ठूलो साथी ‘सर्कल’मा समेत प्रवेश गराउँछ, जहाँ आफू जस्तै मस्तिष्कसँगको सान्निध्य र सम्पर्क बढ्छ, जसले आफूलाई थप क्षमतावान् बनाउन उत्प्रेरित गर्छ।  

स्कुल–कलेजको शिक्षा प्राथमिकताको विषय नै होइन। प्राथमिकताको विषय त जन्मजात प्रतिभालाई जोगाउनु र हुर्काउनु हो। यसका लागि जन्मजात क्षमतामा आधारित शिक्षा, अतिरिक्त अध्ययन र तालिम आवश्यक पर्छन्। यही ‘एक्स्ट्रा’ क्रियाकलाप जोड्नासाथ ‘अर्डिनरी’ मान्छे ‘एक्स्ट्राअर्डिनरी’ बन्न पुग्छ। सम्पूर्ण

प्रतिक्रिया दिनुहोस