सन् १९६९ मा पटनामा ओशो अर्थात् रजनिशलाई भेटेपछि स्वामी आनन्द अरुण ओशो सिद्धान्तबाट प्रभावित भएका थिए । उनैले नेपालमा सर्वप्रथम ओशो दर्शन
भित्र्याएका हुन् । यो दर्शन हाल नेपालमा धेरैको मन जित्न सफल भएको छ ।
के हो ओशो दर्शन ?
ओशो दर्शन एउटा सन्तुलित आदर्श जीवन हो । यसलाई गृहस्थ सन्यासको रूपमा हेरिने गरिन्छ । भौतिक जीवनसँगै रहेर अध्यात्म जीवन पनि जिउन सकिने मान्यता नै ओशोको सिद्धान्त हो । ओशो दर्शन छोटो समयमा नै चर्चित भएको दर्शन हो । विश्वभर मानिने गरिएका प्रायः सबै धर्ममा प्रेम, विवाह र यौनलाई सहजरूपमा स्विकारिँदैन । तर, ओशो दर्शन गृहस्थी जीवनसँगै सन्न्यासी जीवन व्यथित गर्न सक्ने सिद्धान्तमा अडिग छ ।
जुन आजको आवश्यकता पनि हो । त्यसकारण समय सापेक्ष ल्याइएको सिद्धान्त भएकाले ओशो दर्शन खासगरी युवापुस्तामाझ लोकप्रिय छ । ओशोका अनुयायीले ध्यान गर्छन् । यसमा धेरैको जिज्ञासा होला । वास्तवमा ध्यान विचारसिद्धको अवस्था हो । ध्यान कुनै वस्तुप्रतिको एकाग्रता भने होइन । यो आफैँमा विश्राम पाउने एउटा प्रक्रिया हो । ओशो दर्शनअनुसार यस (ध्यान)लाई सक्रिय ध्यान पनि भनिन्छ । यसभित्र योग, प्राणायाम ( श्वासप्रस्वासको अभ्यास) आदि पर्छन् ।
ध्यान गर्दाका फाइदा
मनमा शान्ति
ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर, चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै, आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ ।
तनाव व्यवस्थापन
ध्यानको माध्यमले सजिलै तनाव व्यवस्थापन गर्न सकिन्छ । भौतिक जीवनबाट हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमबाट हटाउन सकिन्छ । ध्यान गर्दा आफ्नो मस्तिष्कलाई आफैँले एकाग्र गरिने हुनाले व्याकुलता, ईष्र्या, निराशा हटेर जान्छ ।
सकारात्मक सोच
ध्यान गर्दा मानिसमा नकारात्मकता हटेर जान्छ, सकारात्मक सोच पलाउँछ । सकारात्मक सोचले मानिसको व्यक्तित्वमा नै परिवर्तन ल्याउँछ । मनबाट नकारात्मक सोच हट्नेवित्तिकै मानिसमा सिर्जनशीलता स्वतः बढ्छ । जसले गर्दा मानिसको व्यवहारमा नम्रता आउने भएकाले उसले समाजमा राम्रो सम्बन्ध कायम राख्न सक्छ ।
शारीरिक तन्दुरुस्ती
शरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ । जसबाट प्रत्येक कोषिकामा उर्जा उत्पन्न हुने गर्छ । नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, तनावका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ । त्यसैगरी, रोग प्रतिरोधी क्षमताको विकास, घाउ, अनिन्द्रा, जोर्र्नी र टाउको दुखाइबाट राहत पाउन सकिन्छ । भावनालाई बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ । जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस