संविधान कार्यान्वयन र समृद्धिका लागि साझा सहमति आवश्यक छ : अध्यक्ष प्रचण्ड

बुधबार, ११ पुस २०७५, १८ : ०१
संविधान कार्यान्वयन र समृद्धिका लागि साझा सहमति आवश्यक छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान कार्यान्वयन, विकास र समृद्धिको मार्गमा मुलुकलाई लैजाने विषयमा दलहरुबीच साझा सहमतिको आवश्यकता रहेको बताउनुभएको छ । 

सङ्घीय संसद्को आजदेखि शुरु भएको अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकमा उहाँले शान्तिप्रक्रिया र संविधान जारी भइसकेपछि मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्छ भन्ने सबैको चाहना छ, त्यो चाहनालाई पूरा गर्न दलहरुबीच साझा सहमति आवश्यक छ भन्नुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “हामी सहमतिमा अघि बढ्न सकेनौँ भने युद्धमा शान्तिलाई रुपान्तरण गर्न गरेको मिहेनत खेर जान सक्छ, मुलुकमा अहिले महत्वपूर्ण उपलब्धि भएको छ, यसलाई केही होइन भन्ने ढङ्गबाट नजरअन्दाज गर्न मिल्दैन ।” 

“मुलुकमा ऐतिहासिक परिवर्तन गर्न साझा यात्रा र समझदारी तय गरेर यहाँसम्म आइपुग्यौँ, हामीले गरेको परिवर्तनकै उपलब्धिका कारण छिमेकीसँग सन्तुलित ढङ्गबाट सम्बन्ध विकास गरेर अघि बढाउन र लाभ लिन सक्ने अवस्था निर्माण भएको छ, चीनबाट रेल आउने उत्साहजनक वातावरण बनेको छ,” उहाँले भन्नुभयो । 

यो सरकारले संवैधानिक विकास र पूर्वाधार निर्माण तथा छिमेकीसँगको सम्बन्ध विस्तारमा दूरगामी महत्वको काम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले जनताको साझा एजेण्डा विकास र समृद्धि भएको बताउनुभयो । संविधान कार्यान्वयन, विकास र समृद्धिका विषयलाई अहिले अघि बढाउन सकेनौँ भने अर्काे शक्ति र आन्दोलनबाट होला भन्ने कल्पना गर्न सकिन्न भन्दै उहाँले राष्ट्रको भौगोलिक अखण्डता र मुलुकको संवेदनशीलतालाई ध्यानमा राखेर दिएको जनताको अभिमतलाई खेर जान हुन्न भन्नेमा आफूहरु सजग र सचेत रहेको बताउनुभयो । 

नेपाली काङ्ग्रेसको भर्खरै सम्पन्न बैठकबाट मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्छ भन्ने एकै खाले भावना आउनु सुखद पक्ष भएको बताउँदै अध्यक्ष दाहालले राष्ट्रिय अन्तर्राष्ट्रिय दृष्टिकोणबाट पनि उपयुक्त वातावरण रहेकाले विकास र समृद्धिको यात्रालाई हातेमालो गरेर अघि बढाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न सक्छौँ भन्नुभयो । 

सङ्घीयता नयाँ प्रणाली र संरचना भएकाले योसँग सम्बन्धित ऐन निर्माणलाई प्राथमिकतामा राखेको सरकारले काम गर्ने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “ऐन पारित गर्ने सन्दर्भमा सबैको सहमति आवश्यक छ, यो कार्य संविधानकै अङ्ग भएकाले यसलाई पारित गर्ने प्रक्रियामा सहमति कायम गर्न म अपिल गर्दछु । यी राजनीतिक स्थिरता र सुशासनका लागि यो नभई नहुने विषय हुन् ।” 

मुलुकका धेरै अप्ठेरोलाई सहमतिका आधारमा सम्बोधन गरेर, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान जारी गर्न सफल भएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “त्यसको उपलब्धिका रुपमा लोकतान्त्रिक निर्वाचनका माध्यमबाट तीन तहकै सरकार गठन गर्न सफल भएका छौँ ।” 

देश प्राप्त उपलब्धिको संस्थागत गर्ने प्रक्रियामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “यो सङ्घीयतामार्फत पहिलो पटक राजनीतिक संरचनाका साथ जनतालाई अघि बढाउने प्रक्रिया हो, हिजोको जस्तो सामान्य रुपमा हेरिन हुँदैन, यो प्रक्रिया अघि बढाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष भन्नेमा छैन, शिशु अवस्थामा रहेको सङ्घीयता र लोकतन्त्र जसले जन्मायो, उसैले हुर्काएन, बढाएन अप्ठेरोमा पर्न सक्नेतर्फ हामी सजग हुनुपर्छ ।” 

उहाँले भन्नुभयो, “हामी सबैको जिम्मेवारी छ, यो संविधान कार्यान्वयनको जिम्मेवारी सत्तापक्षको मात्र होइन, अहिलेको कार्यभार पूरा सहमतिका साथ अघि बढ्न आवश्यक छ । संविधानको मर्म र भावनाअनुसार ऐन निर्माण गर्नु अहिलेको कार्यभार हो ।” 

“निर्मला पन्तको बलत्कार–हत्याको दोषी पत्ता लगाउन नसक्नु कम्जोरी भए पनि यसका लागि सरकारको प्रयास भने जारी राखेको छ, जनतालाई निराश र भयभित गराउने कार्य हाम्रो जिम्मेवारी भित्र पर्दैन,” उहाँले भन्नुभयो । अध्यक्ष दाहाले दुर्घटनामा परी दाङ र नुवाकोटमा जीवन गुमाउने प्रति बैठकमा दुःख व्यक्त गर्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस