राष्ट्रिय अभिभारा पूरा गर्न बैठक महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

बुधबार, ११ पुस २०७५, १३ : ५७
राष्ट्रिय अभिभारा पूरा गर्न बैठक महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राख्नुभएका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिनुभएको छ । 
गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष दाहालले उक्त बैठकमा भएको बहसले आपसमा एकताबद्ध भई राष्ट्रिय अभिभारा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको नेता बेदुराम भुसालले जानकारी दिनुभयो । 
अध्यक्ष दाहालले सङ्गठन सुदृढिकरणका लागि एउटा कार्यदल गठन गरी अघि बढ्न सकिने विचार व्यक्त गर्नुभयो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिउत्तर दिने कार्यक्रम तय भएको छ । ती राजनीतिक प्रतिवेदन आवश्यकताअनुसार परिमार्जन गरी सर्वसम्मत पारित गरिने छ । 

बैठकले जनकनन्दनी गाउँपालिका–४ धनुषा निवासी पार्टीका नेता योगेन्द्र शाहप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । गएराति दिवङ्गत हुनुभएका उहाँका शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठक यही पुस १२ गते अपरान्ह ३ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी आज स्थगित भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस