जारी बैठकले तल्लो तहसम्मको एकता टुङग्याउँछ : प्रचण्ड

सोमबार, ०९ पुस २०७५, १७ : ४७
जारी बैठकले तल्लो तहसम्मको एकता टुङग्याउँछ : प्रचण्ड

 चितवन । पूर्वप्रधानमन्त्री, चितवन क्षेत्र नम्बर ३ का सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको जारी बैठकले नेकपाको तल्लो तहसम्मको एकता टुङ्ग्याउने बताउनु भएको छ ।
भरतपुर महानगरपालिका २३, जगतपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सोमबार उद्घाटन गर्दै प्रचण्डले जारी बैठकबाटै नेकपाको तल्लो तहको एकीकरण टुङ्गो लगाउने जानकारी दिनुभयो । प्रचण्डले स्थायी कमिटीको बैठकमा बिशेषगरी सरकारको काम पनि प्रभावकारी गर्नेमा केन्द्रित रहेको बताउनु भयो ।
चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहनु भएका प्रचण्डले जगतपुर र माडी क्षेत्रको मुख्य समस्याका रुपमा रहेका जङ्गली जनावर र बाढीको समस्या समधान गर्ने गरी परियोजना बढाउन लागिएको जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज, राप्ती र नारायणी नदी गौरवको विषय भए पनि यहाँका बासिन्दालाई समस्याको रुपमा खडा भएको प्रचण्डको भनाई छ । दुबै समस्या समधान गर्न राप्ती र नारायणी नदीमा तटबन्धसहितको रिङ्रोड निर्माणका लागि डिपिआर तयार भइरहेको भन्दै उहाँले बहुबर्षीय योजनासहित काम आगाडि बढ्ने बताउनु भयो ।
‘ठोरी माडी हुलाकी सडक निर्माण गर्दा माडीको समस्या समधान हुन्छ’ उहाँले भन्नुभयो, ‘रिउ खोलामा तटबन्ध पनि हुने गरी हुलाकी सडकको डिपिआर निर्माणको काम अघि बढिरहेको छ । यसले माडी क्षेत्रको जङ्गली जनावर र बाढीको खतरा हराएर जान्छ ।’ अध्यक्ष प्रचण्डले अबको ४ बर्षभित्र चितवनका मुख्य बाटाहरु पिच हुने दोहो¥याउनु भयो ।
अध्यक्ष प्रचण्डले नेकपाको दुईतिहाई सरकारले सैद्धान्तिक शिक्षालाई कम गर्दै प्राविधिक र व्यावसायिक शिक्षालाई ७० प्रतिशत पु¥याउने लक्ष्य लिएको बताउनु भयो । नयाँ सविधानले मौलिक अधिकारी सम्बन्धी शिक्षा, स्वास्थ्य, रोजगारी नपाए अदालतमा गएर मुद्दा दिन सक्ने व्यवस्था गरेको औंल्याउनु भयो । अदालतले बेरोजगारी, शिक्षा र स्वास्थ्यबाट बञ्चितको पक्षमा फैसला गर्ने प्रावधान संविधानले गरेको जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस